Logo

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणको सुस्तता, दशैंमा सम्पन्न हुनेमा आशंका

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणको सुस्तता, दशैंमा सम्पन्न हुनेमा आशंका



काठमाडौं । रानीपोखरीको पुनर्निर्माणमा पुनर्निर्माण प्राधिकरणले सुस्तता देखाएको छ । जिम्मा पाएको ३ महिना वित्दा रानिपोखरीको स्वरुप केही हदसम्म परिवर्तन भएको छ तर सोचे अनुसार काम भने भएको छैन ।

गत माघ १४ गतेको मन्त्रीपरिषदले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न नसकेको भन्दै प्राधिकरणलाई उक्त जिम्मेवारी दिएको थियो । प्राधिकरणले भने जिम्मा पाएको १ महिनापछि मात्रै काम सुरु गरेको थियो । सोही अनुसार हालसम्म प्राधिकरणले पोखरीको बालुवा सम्याउने काम मात्रै गरिरहेको छ ।

पहिलो चरणमा पोखरीको बालुवा सम्याएर माथिल्लो तहमा पानी नचुहीने गरी कालो माटोको पत्र राख्ने काम अघि बढ्न लागेको प्राधिकरणका सिनियर डिभिजनल ईन्जिनियर धुर्व पौडेलले जानकारी दिए । उनका अनुसार पोखरीको बालुवा माथी नै पानी हाल्दा पानि नरोकीने र चुहिएर सकिने हुनाले कालोमाटोको पत्र राख्न लागिएको हो ।

प्राधिकरणले रानिपोखरीको सम्पुर्ण काम दशैं वरीपरीमा सम्पन्न गर्ने सम्झौता गरेको भएपनि दशैमै उक्त कार्य सम्पन्न हुने भने देखिँदैन । हाल पोखरीको पूर्वतिरको पर्खाल बनाउने, साईडमा बोट विरुवा रोप्ने, पोखरीको मन्दिर र पुल निर्माण गर्ने लगायतका काम भने अघि बढेका छैनन ।

पोखरीको विचमा रहेको मन्दिर बनाउने जिम्मा निर्माण ब्यवसायीले पाएको भएपनि काम भने अघि बढेको छैन । उक्त मन्दिरको टेण्डर भैसकेकाले टेण्डरको टुङ्गो लगाएपछि मन्दिरको काम अघि बढ्ने ईन्जिनियर पौडेलले जानकारी दिएका छन । उनका अनुसार पोखरीमा कालोमाटोको पत्र हालिसकेपछि पर्खाल, बोटविरुवा लगायतको काम पनि अघि बढ्ने छ ।

मन्त्रीपरिषदको बैठकले काठमाडौं महानगरपालिकालाई रानीपोखरी पुनर्निर्माण गर्नका लागि ३ बर्षअघि नै जिम्मा दिएपनि सोही अनुसार काम गर्न नसकेको भन्दै पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मा दिएको थियो ।

कामपाले ३ बर्ष अघि रानीपोखरी पुनर्निर्माण गर्ने जिम्मा पाएपनि विभिन्न विरोधका कारण पुनर्निर्माण गर्न सकेको थिएन । रानीपोखरी पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दिँदा राष्ट्रपती विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन । प्राधिकरणले भने रानीपोखरी प्रतापमल्लकालीन शैलीमा निर्माण गरिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको थियो जसको लागत करिव १० करोड रुपैयाँ अनुमान गरिएको छ । यस्तै पोखरीमा बनाईने मन्दिर तथा पुलको कामको लागि भने १८ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । रानीपोखरीको काम दशैंमै सम्पन्न गर्ने लक्ष्य रहेपनि दशैँमा सम्पन्न हुन्छ भन्ने ग्यारेन्टी नभएको ईन्जिनियर पौडेलले जानकराी दिएका छन ।

रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीले गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्
MBL