Logo

साझाको अपांगमैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

साझाको अपांगमैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’


बिजखबर संवाददाता
0
Shares

सञ्चिता घिमिरे

ललितपुर । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म अपांगमैत्री बस गुड्ने भएको छ ।

उक्त होचो बसमा अपांगता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन ।

सो सुविधा उपलब्ध भएपछि अस्पताल वा अन्य ठाउँमा जानका लागि ज्येष्ठ नागरिक तथा अपांग अशक्तले कसरी पुग्ने भन्ने चिन्ता दूर हुने भएको छ ।

झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछि काठमाडौँ उपत्यकामा देखिने यो दृष्यका लागि साझा यातायातले गत साता होचो ९सेमी लो फ्लोर० भएको भित्र्याइसकेको छ ।

बस अर्को महिनाबाट सञ्चालनमा ल्याउन लागिएको र अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार दर्ता सकिएपछि रुटको काम हुनेछ ।

साझाले टेन्डरमार्फत झण्डै रु ३५ लाखमा भित्र्याएको यो बसमा ४१ जनासम्म अटाउने छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस ल्याएको यो बस अरु बसको तुलनामा धेरै महँगो पर्ने उने जानकारी दिए ।

रुट छान्दा लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुडाउन सकिने अवस्थालाई ध्यान दिइएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने तर लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो भएको कामु प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

बसमा एउटामात्रै खुड्किलो हुन्छ जसले गर्दा अपांगता भएका व्यक्ति सजिलै उक्लन– ओर्लन सक्छन् र खुडकिलो पनि फोल्ड गर्न मिल्छ । ह्विलचेयर पनि सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ ।

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क रुपमा यात्रा गर्न पाउने उनले बताए । ‘क’ र ‘ख’ वर्गका अपाङ्ग र पाँच वर्षका बालबालिकाले निःशुल्क रुपमा यात्रा गर्न पाउँछन् । ‘महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ’ पाण्डेले भने ।

साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् ।

अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । ४४ वटा बस अहिले काठमाडौं उपत्यकामा र दुई वटा बस काठमाडौं देखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ ।

साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले साझाको रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका धेरै नगरपालिकाले साझासँग सहकार्य गर्न इच्छुक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL