Logo

तिहारका लागि ३ लाख माला आयात गरिँदै

तिहारका लागि ३ लाख माला आयात गरिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस बर्षको तिहारका लागि ३ लाख माला आयात गरिने भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ३ लाख गोटा माला आयातको तयारी गरिएको फलोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । फुलको उत्पादन बार्षिक रुपमा बढेपनि स्थानीय बजारमा मागमा बृद्धि भएकोले माग धान्न नसकिएको उनले बताए ।

श्रेष्ठका अनुसार नेपालमा १५ लाख मालाको माग छ । बजारमा ११ लाख सयपत्री मालाको माग रहेकोमा अहिले ८ लाख मात्र उत्पादन हुन्छ । तर, मखमली र गोदावरी फूलको मालाले भने बजारको माग धानेको उनले जानकारी दिए । फ्लोरिकल्चर एशोसिएशनका अनुसार तिहारका लागि ३ लाख मखमली र १ लाख गोबदरी फूलको माला तयार हुन्छ ।

गतबर्ष भारतबाट २ लाख ओटा माला आयात गरिएको थियो । प्रत्येक बर्ष ५ प्रतिशतका दरले फूलको आयात घटाउने योजना भएपनि बजारमा माग बढ्दा आयात बृद्धि भएको उनले जानकारी दिए । ‘गत बर्ष ९ लाख माला उत्पादन हुँदा २ लाख आयात गर्नुपरेको थियो,’ उनले भने, ‘यस बर्ष माग बढ्दा ३ लाख आयात गर्नुपर्ने अवस्था छ ।’

त्यस्तै यस बर्ष तिहार अगाडी परेकोले पनि कतिपय स्थानमा सयपत्री फुलीसकेको छैन । जसले गर्दा पनि बढी माला आयात गर्न परेको हो ।
तर, गत बर्ष नेपालबाट १ लाख माला विदेश निर्यात भएको थियो । विदेशमा रहेका नेपाललीले तिहार मनाउन नेपालबाटै माला मगाउने गरेका छन् ।

श्रेष्ठका अनुसार भारतबाट पुष्प व्यवसायीले प्रतिगोटा ३० रुपैयाँमा माला आयात गर्दै आएका छन् । नेपालमा भने मालाको मूल्य ५५ देखि ७० रुपैयाँ प्रतिगोटासम्म पर्ने गरेको छ । मालाको मूल्य फूलको गुणस्तरका आधारमा फरक हुने गर्दछ । पछिल्लो समय नेपालमा बार्षिक ३० देखि ४० करोड रुपैयाँ बराबरको सयपत्री माला बिक्री हुने गरेको छ ।

दक्ष जनशक्ति अभाव

पुष्प व्यवसायमा ठूलो लगानी तथा धेरै मेहनत गर्न नपर्ने व्यवसाय हो । सानो लगानीमा राम्रो प्रतिफल दिने भएपनि यस व्यवसायमा दक्ष जनशक्तिको अभाव रहेको उनको गुनासो छ । पढेका युवाहरु युरोप अमेरिका र कम पढेका खाडी मुलुकतिर जाने भएकोले नेपालमा जनशक्तिको अभाव भएको उनको गुनासो छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले पनि यस क्षेत्रलाई खासै सहयोग नगरेको उनको गुनासो छ । त्यस्तै प्राविधिकको अभाव रहेकोले सामान्य किरा लाग्दा पनि समाधान गर्न नसक्दा फूलहरु नष्ट हुने समस्या देखिएको व्यवसायीहरुरु बताउँछन् ।

तिहारमा मालाको लागि काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, चितवन, काभ्रे, मकवानपुर लगायत जिल्लामा उत्पादित फूलका माला उपत्यका ल्याइन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL