Logo

स्वदेशमै उत्पादन हुँदै मोटरसाइकलको ब्याट्री, ३ महिनाभित्रै बजारमा आउने

स्वदेशमै उत्पादन हुँदै मोटरसाइकलको ब्याट्री, ३ महिनाभित्रै बजारमा आउने


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

८ माघ, काठमाडौं । नेपालमै मोटरसाइकलको ब्याट्री बन्ने हुने भएको छ । कुलायन ब्याट्री इन्डस्ट्रीज प्रालिले नेपालमै पहिलो पटक मोटरसाइकलको ब्याट्री उत्पादन गर्न लागेको हो । उक्त ब्याट्रीहरु आगामी ३ महिना भित्र बजारमा ल्याइने कुलायन ब्याट्रीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर कार्कीले बिजखबरलाई बताए । ‘हाल ब्याट्री उत्पादनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयारी गरिसकेका छौं,’ उनले भने, ‘त्यस पश्चात नेपाल मोटरसाइकलको ब्याट्रीमा आत्मनिर्भर हुनेछ ।’

कार्कीका अनुसार मोटरसाइकलको ब्याट्री उत्पादनका लागि आवश्यक मेशिन औजारहरु झण्डै ५ वर्ष अघि नै ल्याइएको थियो । त्यसका लागि आवश्यक कच्चा केही पदार्थ पनि त्यतिबेला नै ल्याइएको थियो । तर, ब्याट्री बनाउनका लागि आवश्यक प्लाष्टीकको बट्टा नपाइएकाले रोकिएको कार्की बताउँछन् । ‘त्यस्ता ब्याट्रीका लागि आवश्यक बट्टा नेपालमै बनाउन सम्भब छैन,’ उनले भने, ‘भारतमा पनि नपाइने भएकाले रोकिएको छ ।’

हाल ब्याट्री बनाउनका लागि आवश्क बट्टा चीनबाट ल्याउन लागिएको कार्कीले जानकारी दिए । ‘मोटरसाइकलको ब्याट्री बनाउन लागि चाहिने बट्टा ल्याउनका लागि चीनको एक कम्पनीसँग २ हप्ता अघिमात्र सम्झौता गरेका छौं,’ उनले भने, ‘कम्पनीले २ महिनाभित्र हामीलाई आवश्यक बट्टा उपलब्ध गराउने छ ।’ हाल बट्टाको डिजाइन फाइनल गरेर ड्रोइङका लागि पठाइएको छ । कम्पनीले उक्त ड्रोइङ पनि २÷३ दिन भित्रमै उपलब्ध गराउने भएको छ । साथै, बट्टा ल्याउनका लागि कम्पनीलाई अग्रीम भुक्तानी समेत गरिसेकेको कार्कीले बताए ।

कम्पनीले मोटरसाइलको ब्याट्री उत्पादनका लागि ४ करोड रुपैयाँ लगानी गरेको छ । ब्याट्री बनाउनका लागि आवश्यक मेसिनका लागि मात्र सो रकम खर्च भएको उनको भनाइ छ ।

कुलायनले ‘वाटर रि कलेक्सन सिस्टम’ सहितको ब्याट्री उत्पादन गर्ने भएको छ । उक्त प्रविधिबाट ब्याट्री उत्पादन गर्दा त्यसमा बेला–बेलामा डिस्टीलरी वाटर राख्नु पर्दैन । उक्त प्रविधिबाट ब्याट्री उत्पादन गर्दा लामो समयसम्म टिक्नुका साथै उपभोक्तालाई समेत फाइदा पुग्दछ ।

कम्पनीले ४ थरीका ब्याट्री उत्पादन गर्ने भएको छ । जसअनुसार २ दशमलव ५, ५, ७ र ९ एम्पीएरका ब्याट्री उत्पादन गरिने कार्की बताउँछन् । उक्त ब्याट्रीहरु शुरुमा दैनिक १ हजार थान उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ । ‘कम्पनीको क्षमता दैनिक २ हजार थान ब्याट्री उत्पादन गर्न सक्ने भएपनि शुरुमा कम नै उत्पादन गरिने छ,’ उनले भने, ‘कम्पनीले उत्पादन शुरु गरेपछि नेपाल मोटरसाइकलको ब्याट्रीमा आत्मनिर्भर हुनेछ ।’

कम्पनीले ठूला गाडी, इन्भटर, युपीएस र सोलारका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ । हाल कम्पनीले वार्षिक १ लाख ५० हजार थान ब्याट्री उत्पादन गर्दै आएको कार्कीले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL