Logo

विदेशी जुत्तामा नेपाली ट्याग, उद्योगसँगै आयात पनि बढ्यो

विदेशी जुत्तामा नेपाली ट्याग, उद्योगसँगै आयात पनि बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

laxmi

१ माघ,काठमाडौं । पछिल्लो समय आयातित जुत्तालाई लेवलिङ गरेर बेच्ने प्रबृत्ति बढेकोले जुत्ताको आयात  पनि बढेको छ ।  स्वदेशी जुत्ता उत्पादकहरुले आयातित जुत्ता तथा चप्पलमा लेवलिङ गरेर बेच्ने क्रम बढेकोले आयात ह्वात्तै बढेको छ । यो कुरा जुत्ता व्यवसायी नै स्वीकार गर्छन् । ‘अचेल उद्योग खुल्नुभन्दा पहिला त्यसका उत्पादनहरु बजारमा आउने गरेका छन्,’ एक जुत्ता व्यवसायीले भने, ‘चीन तथा भारतबाट आयात गरिएका जुत्तालाई नेपाली नाम तथा लेवल राख्ने भएकोले यस्तो भएको हो । नेपालमै उत्पादन भएको भनिएका स्पोर्टस जुत्ता उत्पादन गर्ने मेसिन नै नभएको ती व्यवसायीले बताए । ‘बजारमा नेपाली ब्राण्डका लेवल टासेर आयातित स्पोर्टस जुत्ता विक्री भइरहेको छ’ उनले भने ।

नेपालमा जुत्ता तथा चप्पल उद्योग खुल्ने क्रम दिनप्रतिदिन बढ्दै गए पनि जुत्ता आयात बढेको विभिन्न तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७१\७२ को पहिलो ४ महिनामा ८८ करोड ९० लाख रुपैयाँन्दा बढीको जुत्ता तथा चप्पल आयात भएको छ । सो अवधिमा भारतबाट मात्र ३१ करोड ८४ लाख रुपैयाँको जुत्ता तथा चप्पल आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा  १ सय ७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भारतबाट १५ करोड ५३ लाख रुपैयाँको जुत्ता तथा चप्पल आयात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै,तथ्यांक अनुसार तेस्रो मुलुकबाट ५ करोड रुपैयाँ बरावरको जुत्ता भित्रिएको छ । यो गत आवको तुलनामा १ करोड रुपैयाँले बढी हो ।

shoes_1

तर, सो अवधिमा चीनबाट आयात  हुने जुत्ता चप्पलमा भने ३१ प्रतिशतले ह्रास आएको छ । गत आवको पहिलो ४ महिनामा चीनबाट ७५ करोड ५६ लाख रुपैयाँ बरावरको जुत्ता चप्पल आयात भएकोमा चालुको सोही अवधिमा ५२ करोड ५ लाख रुपैयाँ बरावरको मात्र जुत्ता चप्पल आयात भएको छ । सरकारले चीनबाट आयात गरिने जुत्ता चप्पलको भन्सार मुल्यमा १० गुणभन्दा बढीले बृद्धि गरेपछि आयात घटेको नेपाल छाला जुत्ता तथा बस्तु उत्पादक संघका उपाध्यक्ष तथा कोसेली सुजका प्रबन्ध निर्देशक रविनकुमार श्रेष्ठले बताउँछन् ।

यस अघि चीनबाट आयात गर्दा प्रति जोर भन्सार मुल्य २ डलर लिँदै आएकोमा बढाएर २२ डलर पु¥याइएको छ । तर, भारतबाट आयात हुने जुत्ताको भन्सार मुल्यमा भने दोब्बरले मात्र बृद्धि गरिएको छ । यस अघि प्रति जोर ३ सय भारु लिँदै आएकोमा हाल ६ सय भारु पु¥याइएको छ । चीनबाट आयात हुने जुत्तामा भन्सारदर उच्च रुपमा बढेपनि त्यस्ता व्यवसायीहरु भारततर्फ आकर्षित भएका सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय रकममा आयात बढेको देखिएपनि संख्यात्मक रुपमा भने नबढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

विदेशी बजारमा जुत्ताको मूल्य बढेकोले आयातित जुत्ताको लागत मात्र बढेको संघका अध्यक्ष तथा बेस फुटवेयर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय बताउँछन् । ‘जुत्ता आयात बार्षिक रुपमा घट्दै गएको छ,’ उनले भने, ‘सरकारले भन्सारमा ‘अन्डर भ्यालुएशन (न्युन बीजकिकरण) गरेर जुत्ता चप्पल ल्याउन बन्देज गरेकोले पनि पैसा बढी देखिएको हो ।’ तर, नेपालका अधिकांश उद्योगीहरुले आफैले उत्पादन गरेर बेचेपनि केही व्यवसायीले भने आयातित चुत्ता चप्पलमै लेबलिङ गरेर बेचिरेको उनले जानकारी दिए ।

‘नेपालमा राजनीतिदेखि कुनै पनि व्यवसाय चोखो छैनन्,’ उनले भने, ‘जुत्ता उद्योगमा पनि त्यस्तै छ ।’छाला जुत्ताभन्दा पनि स्पोर्टस सुजमा बढी लेवलिङ हुने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । छाला जुत्ता हातबाट बन्ने भएकोले स्वदेशमा नै उत्पादन गर्न सकिने उनीहरुले जानकारी दिए ।

आयातकर्ताहरु उद्यमीको रुपमा परिवर्तित हुन थालेकोले लेवलिङ बढेको संघका पूर्व अध्यक्ष तथा शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइ बताउँछन् । ‘केही समय जुत्ता आयात गरेर बेच्ने गरेका व्यवसायीले पनि उद्योग खोलेका छन्,’ उनले भने, ‘त्यस्ता व्यवसायीले आयातित जुत्तामा लेवलिङ गरिरहेका छन् ।’

संघका अनुसार नेपालमा बार्षिक ५ करोड जोर जुत्ता खपत हुने गरेको छ । तर, त्यसमा ३ करोड जोर नेपाली उत्पादन भएको संघको दावी छ । नेपालमा करिव ८ सय ५० साना तथा २ सय ६ वटा ठूला उद्योग दर्ता भएका छन् । सोमध्ये ८ सय जुत्ता उद्योगमात्र  सञ्चालनमा रहेको संघले बताएको छ ।
त्यस्तै, विद्यार्थीले प्रयोग गर्ने ९० प्रतिशत जुत्ता नेपाली भएको अध्यक्ष उपाध्यायको दावी छ ।  ‘अहिले नेपाली जुत्ताको बजार हिस्सा ६० प्रतिशत रहेको छ,’ उनले भने, ‘तर, आगामी ५ बर्षभित्र ८० प्रतिशत पु¥याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL