Logo

ऊखुको मूल्य निर्धारण विरुद्ध अदालत जाँदै चिनी उद्योगी

ऊखुको मूल्य निर्धारण विरुद्ध अदालत जाँदै चिनी उद्योगी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले अव्यवहारिक रुपमा ऊखुको मूल्य निर्धारण गरेको भन्दै चिनी उद्योगीहरु सोको विरुद्धमा अदालत जाने भएका छन् । आफुहरुले ऊखुको मूल्य प्रति क्वीन्टल १ सय १३ रुपैयाँ निर्धारण गर्न माग गरेपनि सरकारले त्रुटिपूर्ण तरिकाबाट ५ सय ३० रुपैयाँ २० पैसा निर्धारण गरेकाले त्यसको विरुद्धमा अदातल जाने निर्णय गर्न लागिएको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए । ‘सरकारले गरेको हिसाव अनुसार पनि ऊखुको मूल्य प्रति क्वीन्टल ५ सय १३ रुपैयाँ नै आउँछ तर प्रकाशित गर्दा गलत तरिकाबाट भयो,’ उनले भने ।

उद्योगी र कृषकबीचको मूल्यमा एकरुपकता आउन नसकेपछि गत हप्ता सरकारले ऊखुको मूल्य निर्धारण गरेको थियो । उद्योग र कृषि मन्त्रालयको सहमतिमा ऊखुको मूल्य निर्धारण भएपनि सो मूल्य आफुहरुलाई मान्य नहुने व्यवसायीहरुको भनाइ छ । हाल सरकारले निर्धारण गरेको मूल्य नेपाली बजारमा भएको चिनीको मूल्य तथा अन्तरराष्ट्रिय बजारमा भएको मूल्य अनुसार पनि नमिल्ने अग्रवालको तर्क छ ।

गत वर्ष उखुको मूल्य प्रति क्वीन्टल ४ सय ५२ रुपैयाँ निर्धारण गरिएको थियो । यस वर्ष चिनी मूल्य केही बढेको र गत आवको तुलनामा ऊखु उत्पादनमा समेत कमि आएकाले उद्योगीहरुले प्रति क्वीन्टल ५ सय १३ देखि ५ सय १५ रुपैयाँसम्म दिन सक्ने बताउँदै आएका थिए । तर, एकै पटक ५ सय ३० रुपैयाँभन्दा बढी निर्धारण गरेपछि हाल सरकारलाई सच्याउन आग्रह गरिएको अग्रवालको भनाइ छ । ‘ऊखुको मूल्य निर्धारणमा त्रृटि भएको भन्दै सच्याउन आग्रह गरेका छौं,’ उनले भने, ‘यदि सच्यानन् भने मूल्य निर्धारणको विरुद्ध अदालत जानुको विकल्प छैन ।’

तर, कृषकले भने हाल सरकारले निर्धारण गरेको मूल्यमा सहमति जनाएका छन् । कृषकले पनि यस अघि ऊखुको मूल्य प्रति क्वीन्टल ५ सय ५६ रुपैयाँ हुनुपर्ने माग राख्दै आएका थिए । ऊखुको मूल्य निर्धाणका सम्बन्धमा सरकार, कृषक र उद्योगीबीच पटक–पटक वार्ता हुँदा पनि टुङ्गो नलागेपछि यस वर्षको ऊखु क्रसिङमा ढिलाई भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL