Logo

३३ प्रतिशतले घट्यो सवारी विक्री, दशैका लागि ल्याएको सवारीसाधन अझै सीमानाकामा

३३ प्रतिशतले घट्यो सवारी विक्री, दशैका लागि ल्याएको सवारीसाधन अझै सीमानाकामा


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । तराइ आन्दोलन तथा भारतीय नाकाबन्दीले सवारीसाधनको विक्रीमा उच्च गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासमा सवारीसाधन विक्री ३३ प्रतिशतले घटेको छ ।
यातायात व्यवस्था विभागको अनुसार गत आर्थिक वर्षको पहिलो चौमासमा ८८ हाजार ३ सय वटा सवारीसाधन विक्री भएको थियो । तर, चालू आवको पहिलो चौमासमा ५९ हजार ६ सय वटा मात्र सवारी साधन विक्री भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २८ हजार ७ सयले कमी हो ।

नाकाबन्दी र आन्दोलनले व्यवसायीहरु दयनीय अवस्थामा रहेको नेपाल अटोमोवाइल डिलर्श एशोसियशन (नाडा)का अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘पछिल्लो २ वर्ष यता सवारीसाधन विक्री वार्षिक २० देखि २५ प्रतिशतले बढेको थियो,’ उनले भने, ‘तर अहिले बृद्धि हुनुको साटो झण्डै ३३ प्रशितले घटेको छ ।’ यदि यसको बृद्धिदरलाई हेर्ने हो भने सवारीसाधनको विक्री ५० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए ।

आन्दोलन र नाकाबन्दीले सवारीसाधन भित्रन नसक्दा व्यवसायीलाई ठूलो मार परेको समेत उनले जानकारी दिए । ‘दशै तथा तिहारलाई लक्षित गरी मगाएको सवारीसाधन अहिलेसम्म भन्सार नाकामा अड्किएर बसेका छन्,’ उनले भने, ‘व्यवसायीलाई त्यस्को लिम्ब शुल्क नै ठूलो भार पर्न गएको छ ।’

सो अवधिमा प्रायः सवैप्रकारका सवारीसाधनको विक्री उच्च रुपमा घटेको छ । विशेषगरी मोटरसाइकलको विक्री सवैभन्दा बढी २७ हजारले घटेको छ । गत आवको पहिलो चौमासमा कुल ७५ हजार ७ सयवटा मोटरसाइकल विक्री भएकोमा चालू आवको सोही अवधिमा ४८ हजार ४ सयवटा मात्र विक्री भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, ठूला वसको विक्री ५० प्रतिशतले घटेको छ । विगतका वर्षमा यातायात व्यवसायीले दशै तथा तिहारलाई लक्षित गरी ३ सयदेखि ५ सयवटासम्म नयाँ वस थप्ने गरेकोमा यस वर्ष पेट्रोलियम अभावका कारण थपेका थिएनन् । जसले गर्दा पनि वसको विक्रीमा ठूलो गिरावट आएको हो ।

कार, जीप तथा भ्यान विक्रीमा पनि १५ सयले गिरावट आएको छ । गत आवको पहिलो चौमासमा ५ हजार ९ सय ५८ वटा विक्री भएकोमा चालू आवमा ४ हजार ४ सय ६० वटामात्र विक्री भएको छ । यस्तै, पिकअप, माइक्रो तथा मिनीवस विक्रीमा पनि गिरावट आएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL