Logo

मलेशियामा रोजगारी, चार दिनमा ६४ ले लिए श्रम स्वीकृति

मलेशियामा रोजगारी, चार दिनमा ६४ ले लिए श्रम स्वीकृति



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि ४ दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिएका छन ।

उनले भने, ‘सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ ।’ सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको समेत उनले जानकारी दिएका छन ।

मलेशियाबाट ७ हजार ५ सय जनाले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने कार्कीले बताए ।

श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन सुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते २ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए ।

त्यस्तै २६ गते १७, २७ गते ७ र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् /रासस

प्रतिक्रिया दिनुहोस्
MBL