Logo

बेचिएका १७९ नेपालीलाई भारतको मणिपुरबाट उद्धार, आजै काठमाडौं ल्याईँदै

बेचिएका १७९ नेपालीलाई भारतको मणिपुरबाट उद्धार, आजै काठमाडौं ल्याईँदै



भद्रपुर । मानव बेचविखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी नेपाल ल्याइएको छ । तीमध्ये तीमध्ये १ सय ४७ महिला र ३२ पुरुष रहेका छन् ।

माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए । उनीहरु चढेको ६ वटा भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो ।

मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौँ पठाइएको छ । नेपालको विभिन्न नाकाबाट मणिपुर पुर्याइएका उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै उनीहरूलाई काठमाडौँ लगेर पुनःस्थापनागृहमा राखिने खड्काले जानकारी दिए । ‘उनीहरु असाध्य थकित र तनावमा छन्, कतिपयसँग दलालले ४/५ लाखका दरले पैसासमेत असुलेको रहेछ,’ उपसचिव भुुसालले भने, ‘पुनःस्थापना गृहमा लगेर रेस्ट गराउँछौँ र उनीहरुलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत अनुसन्धान गर्छौं ।’

उद्धार गरिएका नेपालीलाई इराक र युएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइसकेको समेत माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए ।

उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सहयोग गरेको थियो । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैँ उपस्थित भएका थिए / रासस

प्रतिक्रिया दिनुहोस्
MBL