Logo

‘पोष्ट फण्ड’ रेमिटान्स कारोबारमा राष्ट्र बैंकको रोक, विदेशी मुद्रा भित्र्याएर मात्र सेवाग्राहीलाई भुक्तानी

‘पोष्ट फण्ड’ रेमिटान्स कारोबारमा राष्ट्र बैंकको रोक, विदेशी मुद्रा भित्र्याएर मात्र सेवाग्राहीलाई भुक्तानी



काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिटान्सको पोष्ट फण्ड (अग्रीम भुक्तानी)लाई रोक लगाएको छ । राष्ट्र बैंकले एकिकृत परिपत्र २०७४ मा संसोधन गर्दै रेमिटान्सको अग्रीम भुक्तानीलाई रोक लगाएको हो ।

नेपाली रेमिट कम्पनीले लाभग्राहीलाई अग्रीम रुपमा रेमिटान्स भुक्तानी गर्दा समस्या देखिएकाले उक्त व्यवस्थामा रोक लगाइएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताए । ‘अग्रीम भुक्तानीको व्यवस्थाले गर्दा नेपालका कतिपय रेमिट कम्पनीहरु समस्यामा परेका छन् भने विदेशबाट रकम नआईकन पनि भुक्तानी दिँदै आएका छन्,’ उनले भने, ‘उक्त व्यवस्थाबाट समस्या आएकाले अबका दिनमा विदेशी मुद्र नेपाल ल्याएर (प्रिपेड) मात्र लाभग्राहीलाई भुक्तानी दिन निर्देशन दिएका हौं ।’

यस अघि रेमिट कम्पनीले विदेशबाट देशमा रेमिटान्स नभित्रदै नेपालमा सेवाग्राहीलाई भुक्तानी दिँदै आएका थिए । तर, अबका दिनमा नेपालमा विदेशी मुद्रा भित्रिएपछि मात्र वा सो बराबरको विदेशी बैंकको ग्यारेन्टी प्राप्त भएपछि मात्र भुक्तानी दिनुपर्ने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेख छ ।

विदेशबाट पैसा नआई नेपालमा अग्रीम रुपमा गरिने भुक्तानीका कारण कतिपय रेमिट कम्पनीहरु समस्यामा परेका कारण विदेशबाट नेपाली बैंक वित्तीय संस्था वा रेमिट कम्पनीलाई भुक्तानी भएपछि मात्र लाभग्राहीलाई दिनुपर्ने व्यवस्था गरिएको ढुङ्गानाले जानकारी दिए । ‘पोष्ट फण्डका कारण कतिपय रेमिट कम्पनी समस्यामा परेका छन् भने पछि विदेशी कम्पनीले भुक्तानी नगरेका कारण मुद्दा समेत परेको छ,’ उनले भने, ‘त्यसैलाई निरुत्साहित गर्न प्रिपेड लागू गरेका हौं ।’

राष्ट्र बैंकको नयाँ नियमसँगै अब विदेशबाट रेमिट कम्पनीले भुक्तानी प्राप्त नगरेसम्म सेवाग्राहीलाई दिन नसकिने नेपाल विप्रेषण संघका महासचिव तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए । ‘यस अघि रेमिट कम्पनीहरुले विदेशी कम्पनीले गरेको कमिटमेन्टको आधारमा भुक्तानी दिने गरेका थिए,’ उनले भने, ‘अब अग्रीम रुपमा विदेशी मुद्रा भित्र्याएर वा सो बराबरको बैंक ग्यारेण्टी लिएर मात्र दिन सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL