Logo

क्यानडा र मौरिससमा पनि सरकारले नेपाली कामदार पठाउने, छलफलको तयारी सुरु

क्यानडा र मौरिससमा पनि सरकारले नेपाली कामदार पठाउने, छलफलको तयारी सुरु



काठमाडौं । सरकारले क्यानडा र मौरिससमा पनि नेपाली कामदार पठाउने भएको छ । नेपाली कामदारका लागि नयाँ र बढि कमाई हुने गन्तव्यको खोजी गर्दै सरकारले क्यानडा तथा मौरिससमा नेपाली कामदार पठाउनका लागि छलफल अघि बढाएको हो ।

नेपाली कामदारका लागि आकर्षक मानिने यूरोपलगायत अन्य मुलुकमा नेपाली कामदार पठाउनका लागि छलफल अघि बढाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । ‘मन्त्रालयले क्यानडा र मौरिससमा कृषि क्षेत्रका कामदार पठाउनका लागि गृहकार्य सुरु भएको छ,’ उनले भने, ‘अहिले प्रारम्भिक चरणको छलफल सुरु भएको छ तर सो विषयमा टुङ्गो लाग्न समय लाग्नेछ ।’

यस अघि मलेशिया तथा खाडी मुलुकमा मात्र नेपाली कामदारलाई पठाउँदै आएको सरकारले अबका दिनमा उच्च आम्दानी हुने मुलुकमा आफ्ना कामदारलाई रोजगारीमा पठाउन गृहकार्य सुरु गरेको हो । यसैहप्ता वैदेशिक रोजगार सुधार कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा पनि युरोपलगायत विभिन्न १९ मुलुकमा नेपाली कामदारलाई रोजगारीमा पठाउन सुझाव दिएको छ ।

जसमा क्यानडा, मौरिसस, फ्रान्स, रोमानिया, जापान, चेकगणतन्त्र, माल्दिभ्सलगायतका मुलुक रहेका छन् । ती देशहरुमा कृषि तथा निर्माण क्षेत्रमा कामदार आवश्यक रहेको र दुई देशबीचको सरकारसँग छलफल गरी नेपाली कामदार पठाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगार सुधार कार्यदलको प्रतिवेदनमा पनि उल्लेख भएको र सम्बन्धित देश पनि नेपाली कामदार लैजान इच्छुक भएकाले तत्कालका लागि क्यानडा र मौरिससमा नेपाली कामदार पठाउन छलफल सुरु गरिएको समेत दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL