Logo

वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सञ्चयकोषको व्यवस्था, मागपत्र ल्याउँदैमा उल्लेख गर्नुपर्ने

वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सञ्चयकोषको व्यवस्था, मागपत्र ल्याउँदैमा उल्लेख गर्नुपर्ने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि पनि संञ्चकोषको व्यवस्था गर्ने भएको छ । रोजगारीमा जाने कामदारको सामाजिक तथा कानुनी सुरक्षाका लागि सञ्चय कोषको व्यवस्था गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

दाहालको अनुसार वैदेशिक रोजगारीमा जाने कामदारका लागि पनि योगदानमा आधारित सञ्चयकोषको व्यवस्था गर्न लागिएको हो । ‘हामीले स्वदेशमै काम गर्ने सबै कामदारको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘सोही अनुरुप अबका दिनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि पनि उक्त सुविधा प्रदान गर्न लागिएको हो ।’

हाल सञ्चयकोषको व्यवस्था गर्न मन्त्रालय तहमा आन्तरिक रुपमा छलफल भइरहेको र केही समयभित्रै यसलाई टुङ्ग्याएर सम्बन्धित रोजगारदाता मुलुकसँग समझदारी गरिने समेत उनले जानकारी दिए । ‘उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि मन्त्रालयले सम्बन्धित रोजगारदाता मुलुकसँग एओयु गर्नेछ,’ उनले भने, ‘यसपछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आउनेछ ।’

रोजगारदाता मुलुकसँगको समझदारीसँगै आगामी दिनमा म्यानपावर कम्पनीले ल्याउने कामदार मागपत्रमै सञ्चयकोषको व्यवस्था प्रष्टसँग उल्लेख गरिनुपर्ने समेत दाहालले जानकारी दिए । ‘अहिले कामदारले ल्याउने मागपत्रमा स्वास्थ्य, बीमाजस्ता सुविधा दिएको हुन्छ,’ उनले भने, ‘अबका दिनमा त्यससँगै सञ्चयकोष पनि थप गरिनेछ ।’

उक्त सञ्चयकोषमा सम्बन्धित रोजगारदाता तथा कामदार स्वयमले सिमित रकम जम्मा गर्नुपर्ने हुन्छ । त्यसरी जम्मा गरिएको रकमलाई कामदार नेपाल फर्किएपछि निश्चित समयपनि फिर्ता दिईनेछ ।

दाहालका अनुसार पहिलो चरणमा विदेशमा भएका भन्दा पनि आगामी दिनमा वैदेशिक रोजगारीमा जाने कामदारको लागि सो व्यवस्था लागू गरिनेछ । ‘हाम्रो तथ्याङक अनुसार ४३ लाखभन्दा बढि कामदारको वैदेशिक रोजगारीमा गएको देखिएपनि कुन देशको कुन कम्पनीको कति कामदार कार्यरत छन् भन्ने एकिन तथ्याङ्क छैन,’ उनले भने, ‘त्यस्तो तथ्याङ्क पत्ता लगाउन समय लाग्छ तसर्थ पहिलो चरणमा रोजगारीमा गईसकेका भन्दा पनि जान लागेका कामदारलाई सञ्चयकोषको व्यवस्था गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL