Logo

१० हजारको लागत बढेर १ लाख पुग्यो, दूतावासका कर्मचारीले ‘दलाली’ गर्दा मागपत्रमा बार्गेनिङ

१० हजारको लागत बढेर १ लाख पुग्यो, दूतावासका कर्मचारीले ‘दलाली’ गर्दा मागपत्रमा बार्गेनिङ


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई फ्रि भिसा फ्रि टिकटमा पठाउने भन्दै म्यानपावर व्यवसायीले कामदारसँग १० हजार रुपैयाँमा मात्र लिन पाउने व्यवस्था लागू गर्यो । सरकारले केही समय त्यसलाई कडाइका साथ लागू गर्ने गरी अनुगमन गरे पनि वैदेशिक रोजगार व्यवसायीको विरोधका बाबजुत उक्त व्यवस्था पूर्ण रुपमा लागू हुन सकेन ।

केही समय म्यानपावर व्यवसायीले कामदारलाई तत्कालका लागि १० हजार रुपैयाँ लिएर मलेशियाको रोजगारीमा पठाएपनि अहिले लागत बढेर १ लाख रुपैयाँभन्दा माथी पुगेको छ । मलेशियाको राजगारीमा जान चाहने कामदार १ लाख रुपैयाँभन्दा कम तिरेर जान नसक्ने सम्बद्ध वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

केही समय मलेशियाका रोजगारदाताले फ्री भिसा फ्रि टिकटमा कामदार मागपत्र दिएपनि मलेशियास्थित नेपाली दूतावासका कर्मचारीका कारण महङ्गो शुल्क तिरेर मात्रपत्र ल्याउनु परेको एक व्यवसायीले बताए । ‘रोजगारदातासँग सहमति गरेर दूतावासमा मागपत्र प्रमाणिकरण गर्न गयो तर, त्यहाँका कर्मचारीले अनेक बहाना गरेर दलाली गर्न थाल्छन्,’ ती व्यवसायीले भने, ‘पछिल्लो समय दूतावासको कर्मचारीले नै एजेन्टको काम गर्न थालेकाले रोजगारीमा जाने कामदारको लागत बढ्न पुगेको छ ।’

विशेषगरी दूतावासका कर्मचारीले कमिशनको खेलामा रोजगारदातासँग बार्गेनिङ गरेर नेपालस्थित आफु नजिकमा म्यानपावर कम्पनीलाई मात्रपत्र पठाउने गरेको व्यवसायीहरुको आरोप छ । ‘केही व्यवसायीहरु मलेशियामा पुगेर रोजगारदातासँगको सहमतिमा निशुल्क मागपत्र ल्याउँछन्,’ ती व्यवसायीले भने, ‘तर, दूतावासमा प्रमाणिकरण गर्न जाँदा कर्मचारीले नेपाली म्यानपावर व्यवसायीसँग कमिशन लिएर अर्कैलाई मात्रपत्र पठाइदिन्छन् ।’

दूतावासका कर्मचारीले बार्गेनिङ गर्ने चलन परम्परागत नै भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल बताउँछन् । ‘दूतावासमा कर्मचारीले पहिला देखि नै कमिशन लिएर आफु नजिकका म्यानपावर कम्पनीलाई मात्रपत्र पठाउँदै आएका थिए,’ उनले भने, ‘अहिले पनि त्यति परम्परा चलिरहेको होला ।’ तर, आफुले भने सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेदेखि नै सोही अनुरुपको मागपत्र पाउन छाडेर कामदार नै पठाउन छाडेको बताउँछन् ।

धेरै मागपत्र प्रमाणीकरण गर्न जाँदा कर्मचारीले बार्गेनिङ गर्ने गरेको मदिना इन्टरनेशनलकी संचालक सुवर्ण श्रेष्ठ बताउँछिन् । ‘आफुले रोजगारदातासँग सहमति गरेर निशुल्क मागपत्र ल्याएर प्रमाणिकरणका लागि दूतावास पुग्यो तर कर्मचारीले अनेक बाहना गरेर अर्केलाई पारिदिन्छन्,’ उनले भनिन्, ‘दूतावासको कर्मचारीले सहज रुपमा प्रमाणीकरण नगरेसम्म फ्रि भिसा फ्रि टिकट सम्भव छैन ।’ साथै पछिल्लो समय म्यानपावर व्यवसायीले नै एउटा मागपत्रका लागि १ हजार ५ सय मलेशियन रिङगिटभन्दा कमिशन तिरेर ल्याउने गरेको उनको भनाई छ ।

मलेशियाका जान सरकारले तोकेको लागतमा परिमार्जन गर्नुपर्ने देखिएको वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारी बताउँछन् । ‘अहिले व्यवसायीले कामदारको मेडिकलदेखि भिसा स्ट्याम्पिङकै लागि २० हजार रुपैयाँ लाग्ने बताउँदै आएका छन्,’ उनले भने, ‘१० हजार रुपैयाँमा कसरी पठाउँछन् ?’

पछिल्लो समय अनुमगन गर्दा म्यानपावर व्यवसायीले कामदारसँग बढी लागत लिएको भेटिएको उनी बताउँछन् । ‘अहिले धेरै कामदारले मलेशियाको रोजगारीमा जाँदा म्यानपावर कम्पनीले बढी लागत लिए भन्ने गुनासो गरिरहेका छन्,’ उनले भने, ‘हामीले अनुमगन गर्दा पनि त्यहि पाएका छौं ।’ तर दूतावासको कर्मचारीले वार्गेनिङ गर्छन वा गर्दैनन् भन्ने विषयमा भने आफुहरुलाई कुनै जानकारी नभएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL