Logo

लेबी हटेपछि बचतमा ६० हजार, मलेशियाबाट बढ्ला त रेमिट्यान्स ?

लेबी हटेपछि बचतमा ६० हजार, मलेशियाबाट बढ्ला त रेमिट्यान्स ?


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । मलेशियाका गृहमन्त्री अहमद जहिद हमिदीले शनिबार विदेशी कामदारले लेबी तिर्न नपर्ने घोषणा गरेसँगै त्यसले नेपाली कामदारलाई पनि ठूलो राहत मिलेको छ । वार्षिक २ हजार ४ सय ४८ रिङ्गिट अर्थात हालको रिङ्गिट मूल्य अनुसार ६० हजार रुपैयाँ लेबी तिर्दे आएका नेपाली कामदारको सो वापतको रकम वचत हुने भएको छ । लेबी कटौतीसँगै मलेशियामा रहेका नेपाली कामदारले वार्षिक थप ३० अर्ब रुपैयाँभन्दा बढी रकम बचत गर्ने निश्चित भएको छ ।

मलेशिया इमिग्रेशनको तथ्याङ्क अनुसार २०१५ को डिसेम्बर अन्तिमसम्ममा ४ लाख ८५ हजार नेपाली कामदार मलेशियामा बैध रुपमा काम गरिहेका छन् । मलेशिया सरकारले विदेशी कामदारलाई बैधानिकता गर्न ल्याएको ‘सिक्स पी’ कार्यक्रम पश्चात बैध कामदारको संख्या ४ लाख ९२ हजार पुगेको थियो । तर, १ वर्षको अवधिमा झण्डै १ लाख नेपाली कामदार मलेशियाको रोजगारीमा पुगिसकेका छन् । सो अवधिमा केही कामदार फर्किएपनि अझै ५ लाख नेपाली कामदार मलेशियाका कानुनी रुपमै कार्यरत छन् ।

यस अघि नेपाली कामदारले मलेशियामा लेबी र पानी बिजुली गरी प्रति महिना २ सय ४ सय ४८ रिङ्गिट बुझाउँदै आएका थिए । गृहमन्त्री हमिदीले सन् २०१७ को शुरुवातसँगै विदेशी कामदारले त्यस्ता खालका कुनै पनि आर्थिक दायित्व तिर्न पर्ने घोषणा गरेपछि कामदारका उक्त रकम बचत हुने भएको हो । यस अघि रोजगारदाताले कामदारसँग लिएर सरकारलाई लेबी तिर्दै आएपनि अबका दिनमा सो सबै दायित्व सम्बन्धित रोजगारदाताकै हुने भएको छ ।

अहिले पनि नेपाल भित्रने रेमिट्यान्सको मुख्य स्रोत मुलुकमा मलेशिया नै रहेको छ । हाल मलेशियामा रहेका कामदारको तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि लेबी फ्री भएसँगै थप ३० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्र्ने निश्चित छ ।

लेबी फ्रीसँगै मलेशिया जाने कामदारको आम्दानी राम्रो हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँन् । ‘यस अघि मलेशिया गएका कामदारले एक वर्षसम्म कमाएको पैसा जाँदा लागेको ऋण तिर्दा ठिक्क हुन्थ्यो,’ खनालले भने, ‘लेबी फ्री हुँदा अहिलेको बजार मूल्य अनुसार जाँदा लाग्ने खर्च यसैले धान्ने छ ।’ लेबी फ्रीसँगै मलेशिया जाने कामदारको चाप समेत बढ्ने उनको तर्क छ । जसले गर्दा आगामी दिनमा मलेशियाबाट नेपाल भित्र्ने रेमिट्यान्स उच्च रुपमा बढ्नेछ ।

मलेशिया सरकारले विदेशी कामदारको लागि गरेको लेबी फ्रीको घोषणासँगै नेपाल भित्र्ने रेमिट्यान्समा ५ देखि १० प्रतिशतसम्म बढ्ने नेपाल मुद्रा विप्रेषक संघका महासचिव तथा आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन् । ‘लेबी फ्रीको व्यवस्थासँगै मलेशियाको रोजगारीमा जाने कामदारको संख्या बढ्नेछ,’ उनले भने, ‘यदि मलेशिया सरकारले यो व्यवस्थालाई तत्काल लागू गराउने हो भने वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र नेपाल दुवैलाई फाइदा पुग्नेछ ।’ तर, गृहमन्त्री हमिदीले घोषणा गरेको सो नीतिलाई मलेशिया सरकारले पारित गर्न भने बाँकी नै छ । अहिले नेपालमा वार्षिक ६ खर्बभन्दा बढी रेमिट्यान्स भित्र्ने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

झण्डै ७ वर्ष देखि नेपाली कामदार बढी रोजगारीमा जाने देशको सुचिमा रहेको मलेशियामा यस वर्ष भने गिरावट आएको छ । वार्षिक २ लाखभन्दा बढी नेपाली कामदार मलेशियाको रोजगारीमा पुग्ने गरेकोमा यस वर्ष १ लाख पनि पुगेका छैनन् । मलेशिया सरकारको यो निर्णयले मलेशियाको काम गर्ने म्यानपावर व्यवसायीलाई पनि ठूलो राहत मिल्ने छ ।

हमिदीले विदेशी कामदार बस्ने होस्टेलको सुविधा समेत रोजगारदाताले नै तिर्नुपर्ने तथा विदेशी कामदारको रेखदेख तथा अवस्थाको मूल्यांकन गर्न ‘जिम्मेवारी र अवलोकन’ सम्बन्धी नयाँ मापदण्ड ल्याउने बताएका छन् । यसैगरी, कामदारको ‘सेक्युरिटी डिपोजिट’मा पनि पुनरावलोकन गर्ने उल्लेख गरेका छन् । यदि तत्काल यो व्यवस्था लागू भएमा नेपाली कामदारको मुख्य गन्तव्य मुलुकमा पुनः मलेशिया पर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL