Logo

रोजगारीमा जाने कामदार घटे रेमिट्यान्स भित्र्ने क्रम बढ्यो, ८ महिनामा सवाँ ४ खर्ब भित्रियो

रोजगारीमा जाने कामदार घटे रेमिट्यान्स भित्र्ने क्रम बढ्यो, ८ महिनामा सवाँ ४ खर्ब भित्रियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि सो वापत भित्रने रेमिट्यान्स भने बढेको छ ।

चालू आवको पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा २३ प्रतिशतले घट्दा सो वापत भित्रने रेमिट्यान्स भने १५ दशमलव २ प्रतिशतले बढ्न गएको छ । ४ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, गत आवको सोही अवधिमा भने ४ प्रतिशतले बृद्धि भई कुल ३ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।

भुकम्पमा समय विदेशमा गएका कामदारले घरमा पैसा पठाउने क्रम बढेकाले पनि रेमिट्यान्स भित्रने क्रम बढेको नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष राजगोपाल राजभण्डारी बताउँछन् । ‘भुकम्पका वेला रेमिट व्यवसायीले निःशुल्क रेमिट्यान्स भित्र्याउने व्यवस्था गरेको थियो,’ उनले भने, ‘घरमा पैसा चाहिने र पठाउँदा शुल्क नलाग्ने भएकाले पनि विदेशबाट पठाउने क्रम बढ्यो ।’

साथै सो समयमा कतिपय दातृ निकायले पठाएको रकमलाई पनि रेमिट्यान्समै गणना गरेका कारण बढ्न गएको उनको भनाइ छ । त्यतिवेला भुकम्प पिडितलाई सहयोग गर्न चाहने विदेशीले पठाएको पैसा पनि रेमिट कम्पनीमार्फत नै आएको थियो । राष्ट्र बैंकले उक्त रकमलाई पनि रेमिट्यान्समै गणना गरेको छ ।

वैदेशिक रोजगारीमा जाने कामदार घटेको अवस्थामा तत्काल रेमिट्यान्स भित्र्ने क्रम बढेको देखिएपनि दिर्घकालमा भने घट्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘यो वर्ष वैदेशिक रोजगारीमा देखिएको असरको प्रभाव रेमिट्यान्स आप्रवाहमा परेको छैन,’ राजभण्डारीले भने, ‘आगामी वर्ष यसको ठूलो प्रभाव पर्ने छ ।’

चालू आवको सोही अवधिमा कुल २ लाख ८० हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण खुद ट्रान्सफर आय १९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ दशमलव ३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL