Logo

आइतबारबाट अनिश्चितकालिन रुपमा म्यानपावर बन्द, वार्ताबाट समाधान खोजिँदै

आइतबारबाट अनिश्चितकालिन रुपमा म्यानपावर बन्द, वार्ताबाट समाधान खोजिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रहरी प्रशासनले छापा मारेको भन्दै म्यानपावर व्यवसायीहरुले आजबाट अनिश्चितकालिन रुपमा आफ्नो व्यवसाय नै बन्द गरी आन्दोलनमा उत्रिएका छन् । आजबाट लागू हुने गरी अनिश्चितकालका लागि म्यानपावर व्यवसाय बन्द गरिएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । ‘हाल वैदेशिक रोजगार ऐन र नियमावलीभन्दा वाहिर गएर व्यवसायी माथी धरपकड भइरहेको छ,’ उनले भने, ‘व्यसायीले वैदेशिक रोजगार ऐनको परिधिभित्र रहेर काम गर्न पाउने अधिकारलाई स्थापित गर्नको लागि पनि व्यवसाय नै बन्द गर्नु परेको छ ।’

वैदेशिक रोजगार व्यवसायलाई अव्यवस्थित र अमार्यादित गराउने गरी कोही कसैले गैर कानुनी काम गरेको छ भने अधिकार प्राप्त निकायले मात्र छानबिन गरी कारबाही गर्नुपर्ने व्यवसायीहरुको माग छ । नेपाली कामदारलाई सस्तो र सुलभ तरिकाले विदेश जान पाउने अबस्था श्रृजना गर्ने र सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु निर्भयता पूर्वकसँग कार्यालय खोलेर काम गर्न पाउने अबस्था श्रृजना गर्न सरकारसँग छलफल गरी निर्णायक निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको समेत ढकालले जानकारी दिए । साथै, सो कार्यको लागि वाध्यतापुर्वक सम्पूर्ण कार्यालय बन्द गर्नु गरेको समेत उनको भनाइ थियो ।

ढकालका अनुसार आइतबारबाट अनिश्चितकालीन रुपमा कार्यालय बन्द गरी पूर्व तथा अन्तिम स्वीकृतीको कार्र्य स्थगित गरिएको छ । सो कार्यमा आवश्यक सहयोग गरी ऐक्यबद्धतत जनाउन सम्पूर्ण सरोकारवालासँग संघले अपिल गरेको छ ।

देशमा आन्तरिक रुपमा रोजगारीको अवसर नहुँदा नेपाली कामदारको लागि वैदेशिक रोजगारीको विकल्प नभएको समेत संघले जानकारी दिएको छ । तर, आगामी दिनमा युवाहरुको लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न समेत संघले माग गरेको छ । व्यवसायीले नेपाली कामदारको लागि सस्तो र सुलभ तरिकाले विदेश जान पाउनु पर्छ भन्ने उद्देश्य लिएपनि विदेशी कम्पनीको विभिन्न खालको नीति नियमले गर्दा पठाउन नसकिने सम्वद्ध व्यवसायीहरुको भनाइ छ ।

विगत केही समय देखी सरकारले सस्तो लोकप्रियताको लागि  कामदार पठाउने नाममा सरकारले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको मूल्याङकन नै नगर्ने, तथा संघसँग छलफल नै नगरी म्यानपावर कम्पनीमा छापा मारेको समेत संघले जानकारी दिएको छ । ‘कामदार पठाउने अन्य विदेशी मुलुकहरुको नियम कानुन तथा त्यहाँको प्रचलनको समेत वास्ता नगरी सरकारले एकतर्फी रुपमा व्यवसायीमाथी कारवाही गर्दै आएको छ,’ उनले भने, ‘जसले गर्दा वैदेशिक रोजगार क्षेत्र नै तहशनहस भएको छ । पछिल्लो समय सरकारको उच्च तहमा रहेका नीति निर्माणमा संलग्न व्यक्तिहरु नै व्यवसायलाई नै ध्वस्त वनाउने गरी व्यक्तिगत स्वार्थमा तल्लिन रहेको ढकालको दावी छ ।

व्यवसायलाई व्यबस्थित गराउने बहानामा राज्यका केही अंगले अधिकार क्षेत्र भन्दा बाहिर गएर ईजाजतपत्र प्राप्त संस्थामा छापा मारी त्यँहा भएका कम्प्यूटर र अन्य कागजपत्र बलजफती जफत गरी कम्पनी सञ्चालक र कार्यरत कर्मचारीहरुलाई गैर कानुनी रुपमा थुनामा राखेको भन्दै यसले आतङक फैलाउने काम भइरहेको संघले जनाएको छ । जसकारण व्यवसाय नै संचालन गर्न सक्ने अवस्था नरहेको संघले ढकालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL