Logo

वैदेशिक रोजगारीमा जानेका लागि ई–टोकन र म्यासेज सेवा, श्रम स्वीकृतिको जानकारी मोबाईलमै

वैदेशिक रोजगारीमा जानेका लागि ई–टोकन र म्यासेज सेवा, श्रम स्वीकृतिको जानकारी मोबाईलमै



काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारका लागि ई–टोकन र म्यासेज सेवा सुरु गर्ने भएको छ । श्रम स्वीकृतिलाई सरलिकृत गर्न यस अघि ई–स्टीकर ल्याएको विभागले यहि मंसिर १५ गतेदेखि ई–टोकन र मेसेज सेवा सुरु गर्न लागेको हो ।

विशेषगरी व्यक्तिरुपमा र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारका लागि उक्त सेवा संचलानमा ल्याउन लागिएको विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए । ‘अहिले पुनः श्रम स्वीकृति तथा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरु श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग अन्तरगतका कार्यालयमा लाईनमा बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै सेवाग्राहीले श्रम स्वीकृति आएनआएको इमेल तथा मोबाइल म्याजेसबाटै जानकारी पाउनेछन् ।’ साथै श्रम स्वीकृतिका लागि आफुले कागजात पेश गरेपछि कहिले श्रम स्वीकृति आउँछ भन्ने जानकारी समेत उक्त म्यासेजमै प्राप्त गर्न सकिनेछ ।

भुसालका अनुसार ई–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गर्ने वित्तिकै श्रम स्वीकृति पाउने दिनको वारेमा जानकारी दिनेछ । यसरी अनलाईन फारम भर्दा आफुलाई कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो सो सम्बन्धमा समेत स्पष्ट खुलाउनुपर्ने छ ।

साथै फाराम बुझाइसकेपछि यदि कुनै कारणवस श्रम स्वीकृति अस्वीकृत हुने भएमा त्यसको कारणसहित मोबाईलमा म्यासेज आउने छ भने श्रम स्वीकृति निस्किएमा फाराम भर्दा उल्लेख गरेको इमेलमा श्रम स्टीकर जानेछ ।

हाल सेवाग्राहीले श्रम स्वीकृतिका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत शुल्क बुझाउने व्यवस्था समेत गर्न लागिएको उनले जानकारी दिए । हाल बीमा र कल्णकारी कोषको रकम तिर्न बैंकमै जानुपर्ने बाध्यता भएकोमा आगामी दिनमा विद्युतीय प्रणालीमार्फत गरिने भएको छ । सो कार्यका लागि सम्बद्ध पक्षसँग सम्झौता गर्न लागिएको समेत भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL