Logo

बदलिँदै रेमिटान्सको स्रोत मुलुक, कोरिया र मलेशियाले बढायो बृद्धिदर

बदलिँदै रेमिटान्सको स्रोत मुलुक, कोरिया र मलेशियाले बढायो बृद्धिदर



काठमाडौं । केही समययता देशमा भित्रने रेमिटान्स बृद्धिदर ऋणात्मक रहेकोमा चालू आर्थिक बर्षको ८ महिनामा आईपुग्दा बढ्न पुगेको छ । चालू आर्थिक बर्षको ८ महिनामा रेमिटान्स बृद्धिदर करिब ५ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आबको ८ महिनामा ४ खर्ब ७१ अर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ । यो बृद्धिदर गत आबको सोही अबधिको तुलनामा ४ दशमलव ९ प्रतिशत हुन आउँछ । गत आबको ८ महिनामा नेपालमा कुल ४ अर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको थियो ।

पछिल्लो समय नेपालमा रेमिटान्स भित्र्ने स्रोत मुलुक बढेसँगै रेमिटान्स आप्रबाह पनि बढेको नेपाल विप्रषक संघका महासचिव तथा आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए । ‘पछिल्लो समय बैंकिङ प्रणालीबाट रेमिटान्स भित्र्ने स्रोत मुलुकमा कोरिया थपिएको छ,’ उनले भने, ‘जसका कारण अहिले रेमिटान्स आप्रबाहमा सुधार आएको छ ।’

नेपालमा रेमिट कम्पनीहरुले विगत ५/६ महिना यता कोरियाबाट बैंकिङ प्रणालीबाट रेमिटान्स भित्र्याउँदै आएका छन् । यस अघि कारोरियाबाट हुण्डी वा गैर बैंकिङ प्रणालीमार्फत रेमिटान्स आउने गरेकोमा पछिल्लो समय करिब १ दर्जन कम्पनीले कोरियाबाट बैंकिङ प्रणाली रेमिटान्स भित्र्याउन सुरु गरेका छन् ।

पोखरेलका अनुसार पछिल्लो समय मलेशियाबाट पनि रेमिटान्स आउने क्रम गरेको छ । पछिल्लो समय नेपाल भित्र्ने रेमिटान्स आप्रबाह बढ्नुमा कोरिया र मलेशिया प्रमुख स्रोत मुलुकमा रहेको छ । तर, कतारलगायतका मुलुकबाट नेपाल भित्र्ने रेमिटान्समा भने गिरावट आएको छ ।

नेपाली रेमिट कम्पनीहरु नयाँ नयाँ गन्तव्य मुलुकमा पुगेसँगै आगामी दिनमा नेपाल भित्र्ने रेमिटान्स आप्रबाह अझै बढ्ने पोखरेलले जानकारी दिए । ‘कोरियालगायतका मुलुकमा रेमिट कम्पनी पुगेसँगै रेमिटान्स आप्रबाह बृद्धिदर करिब ५ प्रतिशतले पुगेको छ,’ उनले भने, ‘नेपाली रेमिट कम्पनीहरु नयाँ नयाँ गन्तव्य मुलुकमा पनि जान लागेकाले यो दर अझै बढ्ने छ ।

गत आबमा नेपालीमा कुल ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिटान्स भित्रिएको थियो । तर, चालू आबमा ७ खर्ब रुपैयाँभन्दा बढी रेमिटान्स भित्रने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL