Logo

पत्रकार बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक, कसरी चल्दैछ नेपालको अर्थतन्त्र?

पत्रकार बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक, कसरी चल्दैछ नेपालको अर्थतन्त्र?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपालले अपाउन लागेको संघीयताको मोडल अति महँगो भएकोले यसको व्यवस्थापनमा बेलैमा ध्यान दिनुपर्ने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् । आर्थिक पत्रकार एवं कारोबार राष्ट्रिय दैनिकका सम्पादन विभाग प्रमुख गजेन्द्र बुढाथोकीद्वारा लिखित समकालीन नेपाली अर्थतन्त्रको सार्वजनिकीकरण कार्यक्रममा उनीहरुले व्यवस्थापनमा ध्यान नदिए भोलि गएर समस्या निम्तन सक्ने बताएका हुन् ।

सो अवसरमा उनीहरूले वित्तीय उदारीकरणपछिको तीन दशकमा नेपालले एक खालका सूचकमा प्रगति हासिल गरे पनि त्यसको स्थायित्वमाथि प्रश्न उठाएका थिए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले आफुले सुरुदेखि नै संघीयता महँगो व्यवस्था हो भन्दै आएको भन्दै यसको आर्थिक व्यवस्थापनलाई पनि उत्तिकै महत्व दिइनु पर्ने बताए । ‘दस वर्षे द्वन्द्वका बाबजुद नेपालले विगतका दशकमा हासिल गरिएको उपलब्धीलाई कम आँकलन गर्न मिल्दैन’ उनले भने ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक उदारीकरण भन्दैमा राज्यको लोककल्याणकारी भूमिका समाप्त नहुने टिप्पणी गर्दै आउने दिनमा राज्यको भूमिका अझ बढाउनु पर्ने बताए । त्यस्तै कार्यक्रममा अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले विगत ३० वर्षमा भएको नेपालको आर्थिक उन्नति स्वभाविक थियो या उदारीकरणको परिणाम थियो भन्ने विषयमै प्रश्न रहेको बताए ।

साथै उनले संघीयताको आर्थिक व्यवस्थापन नेपालका लागि नयाँ समस्या हुने धारणा व्यक्त गरे । कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, अर्थशास्त्री प्रा.डा विश्वम्भर प्याकुरेल  तथा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले आइतबार राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा अनावरण गरे ।

आधुनिक नेपालको संक्षिप्त इतिहाससहित समेटिएको सो पुस्तकमा समसामयिक नेपालको विकास अर्थतन्त्रका विभिन्न आयाम समेटिएको छ ।
सांग्रिला बुक्सद्वारा प्रकाशनमा ल्याइएको पुस्तकको मूल्य ३५० रुपैयाँ तोकिएको छ । यो आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको दोस्रो पुस्तक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL