Logo

ब्याजदरको विषयमा सरकारलाई महासंघको आग्रह, ‘बैंकरको मनपरी बन्द गरौं’

ब्याजदरको विषयमा सरकारलाई महासंघको आग्रह, ‘बैंकरको मनपरी बन्द गरौं’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक ब्याजदरको विषयलाई लिएर आफ्नो पुरानो मागलाई पुनः दोहोर्याएको छ ।

पछिल्लो समय बैंकहरुले आफ्नो मनलाग्दी तरिकाबाट उद्योगी व्यवसायीसँग ब्याज लिएको भन्दै महासंघका अध्यक्ष भवानी राणाले त्यसलाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरेकी हुन् ।

‘अहिले बैंकहरुले आफुलाई चाहेको बेलामा मनपरी ढंगले ब्याजदर वृद्धि गर्दै मनोमानी गर्दै आएका छन्,’ महासंघको ५३ औं बार्षिक साधारणसभामा प्रधानमन्त्री समक्ष उनले भनिन, ‘जसले गर्दा उद्योगी व्यवसायी मर्कामा परेका छन् ।’ साथै उनले अबका दिनमा बैंकिङ क्षेत्रबाट उद्योग व्यवसाय क्षेत्रमा प्रबाह भएको कर्जा र त्यसको ब्याजमा छुट्टै बैज्ञानिक आधार तय गर्न समेत आग्रह गरेकी थिईन ।

बैंकहरुले मनोमानी तरिकाबाट ब्याजदर बढाउँदा उद्योग कलकारखाना तथा व्यवसायमा ठूलो समस्या परेको उनको भनाई थियो । ‘उद्योगीले जोखिम लिएर ब्यवसाय गर्दै कर तिरेका हुन्छन्,’ उनले भनिन्, ‘त्यसमा पनि बैंकहरुले आफुखुसी जथाभावी रुपमा ब्याजदर बढाउँदा झन ठूलो समस्या परेको छ ।’

यसैगरी देश संघीयतामा गएसँगै उद्योगी व्यवासायीमाथी करको भार थुपारिएको भन्दै उक्त समस्या समेत समाधान गर्न आग्रह गरेकी छिन् । ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच करको विषयमा देखिएको विवाद अझै समाधान भएको छैन,’ उनले भनिन्, ‘जसका कारण उद्योगी व्यवसायीहरु दोहोरो मारमा परेका छन् ।’ साना पूँजीबाट स्थानीय तहमा सुरु गरेका व्यवसायीहरुलाई नविकरण तथा प्यानका समस्याले गर्दा व्यवसायनै धान्न नसक्ने अवस्थामा पुगेको उनले जानकारी गराएकि थिईन ।

अध्यक्ष राणाले सरकारले अनुगमनको नाममा समेत व्यवसायीलाई अनावश्यक दुख दिईने काम भइरहेको बताईन् । ‘कुनै पनि क्षेत्रमा सरकारले अनुगमन गर्नुपर्छ त्यसमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भनिन्, ‘तर, अनुगमनको नाममा कुनै पनि व्यक्ति दोषी ठहर्नु पूर्व नै पक्रने तथा जेल हाल्ने जस्ता कामले उनीहरुको मानमर्दन हुनुका साथै सामाजिक रुपमा समेत तिरस्कार बन्नु परेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL