Logo

फ्रान्सेली लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह, लगानीमैत्री कानुन बन्यो अब जमिन र बिजुली दिन्छौं लगानी ल्याउनुस

फ्रान्सेली लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह, लगानीमैत्री कानुन बन्यो अब जमिन र बिजुली दिन्छौं लगानी ल्याउनुस



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीमैत्री कानुन बनेको भन्दै विदेशी लगानीकर्ताहरुलाई लगानी भित्र्याउन आग्रह गरेका छन् । ‘हामीले छोटो समयमा लगानी सम्बन्धी धेरै कानुन परिमार्जन गरी समयसापेक्ष बनाएका छौं,’ नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग भएको व्यवसायिक भेटवार्तामा उनले भने, ‘अब सोही अनुरुप उद्योग स्थापनाका लागि जग्गा, सडक, पानी तथा विजुलीको पनि उपयुक्त व्यवस्था गर्नेछौं ।’

नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसावले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरेका थिए ।

नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै मजवूद आर्थिक सम्बन्ध पनि हुनुपर्ने उनको भनाई थियो । ‘नेपालमा लगानी बढाउने इच्छा देखाएर तपाईहरू यहाँ आउनु भएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधिमण्डललाई स्वागत गर्छु,’ उनले भने, ‘सरकार फ्रेन्च लगानीकर्ताहरूले खोजे अनुसारको लगानीको वातावरण दिन तयार छ ।’

महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ भएको बताईन् । ‘सवै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानूनी सुधार भएका छन् र सवै भन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबैनै बाह्य लगानी आकर्षणको अभियानमा छ,’ अध्यक्ष राणाले भनिन्, ‘यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । महासंघ यसका लागि आफ्नो तर्फबाट फ्रान्सेली लगानीकर्ताहरूलाई आवश्यक सबै सहयोग गर्न प्रतिवद्ध छ ।’

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारि अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निश्कर्ष सहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुती दिएका थिए ।

यसैगरी कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सा“ जाभियर लेजेर ले दुई देश बीचको व्यवसायिक सहकार्यमा यो कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले यो कार्यक्रमले केही परिणाम दिनेमा आफू विश्वस्त रहेको बताए । नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा निकै गम्भीरतापूर्वक क्रियाशील रहेको आफूहरूले पाएकोले नेपालमा फ्रान्सेली लगानीको सम्भाव्यता खोजीगर्न आफूहरू नेपाल आएको जाानकारी दिए ।

सो अवसरमा कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, नेपाल र फ्रान्स बीच व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, फ्रान्ससँग संयुक्त लगानीमा काम गर्न इच्छुक नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL