Logo

अर्थमन्त्रीले भने, ‘तरलता र ब्याजदर वृद्धिमा उद्योगीको आन्दोलनको औचित्य छैन’

अर्थमन्त्रीले भने, ‘तरलता र ब्याजदर वृद्धिमा उद्योगीको आन्दोलनको औचित्य छैन’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजारमा तरलताको अभाव र ब्याजदर वृद्धिको विषयमा उद्योगीहरुको आन्दोलनमा कुनै औचित्य नरहेको बताएका छन् । अहिले बैंकर र उद्योगी एकै भएकाले हाल उद्योगीहरुले गरेको आन्दोलनको कुनै औचित्य नभएको स्पष्ट पारेका हुन् । ‘अहिले उद्योगी र बैंकर एकै स्थानमा छन्,’ बुधबार गोल्छा संगठन र हेस्टर बायोसाईन्सेस लिको संयुक्त लगानीमा स्थापना भएको हेस्टर कम्पनीको उद्घाटन कार्यक्रमा उनले भने, ‘अब तरलता अभावको समस्या समाधान पनि तपाईहरु आफै गर्नुहोस ।’

‘बैंक र उद्योग निजी क्षेत्रका २ ओटा हात हुन् अहिले तसर्थ दुबै हात तपाईँले चलाउनु भएको छ,’ उनले भने, ‘त्यसमा तपाईँहरुलाई तेस्रो हात चलाउनुस भन्न नमिल्ला यो तपाईहरुकै समस्या हो आफै समाधान गर्नुहोस ।’ यस विषयमा सरकारसँग गुहार नमाग्नुस त्यसले बाहिर राम्रो म्यासेज जाँदैन ।

बुधबार मात्रै नेपाल उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन १५ दिने अल्मिेटम दिएको थियो । महासंघले १५ दिनभित्र उद्योग क्षेत्रको कर्जाको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । तर, सोही दिन अर्थमन्त्री डा. खतिवडाले महासंघकै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको कार्यक्रममा गएर निजी क्षेत्रबाट तरलता तथा ब्याजदर विषयमा भइरहेको अन्दोलनको कुनै औचित्य छैन भन्नुले महासंघको अल्टिमेटमले कुनै काम नगर्ने देखिएको छ ।

यसैगरी सरकारले देशमा वैदेशिक लगानी भित्र्याउन छिट्टै एकद्धार प्रणाली लागू गर्ने समेत उनले जानकारी दिए । नेपालका प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि धेरै प्रकारका काम अघि बढेपनि सरकारले एकद्धार प्रणालीलाई तत्काल कार्यान्यनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा. खतिवडाले एकद्वार प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउन सार्वजनिक निजी साझेदारी र लगानी सम्बन्धी ऐनमा ब्यबस्था गरिएको जानकारी दिएका हुन । ‘एकद्धार प्रणालीको ऐनलाई छिट्टै नै हामी संसदमा लैजादैछौ,’ उनले भने, ‘यो ब्यबस्था कार्यान्वयनमा आएसँगै विभिन्न क्षेत्रबाट दिईने सेवा एकै स्थानमा पाईनेछ ।’

हाल एकद्वार प्रणाली कार्यान्यनमा ल्याउनका लागि पुर्वाधार निर्माण भइसकेको र ऐन पारितका लागि मन्त्रिपरिषदमा समेत पठाईसकेको त्यसलाई कार्यान्वयनमा ल्याउन लामो समय नलाग्ने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL