Logo

क्रिप्टोकरेन्सीमार्फत अर्बाै भर्चुअल लगानी डुब्दै, संस्थापकको निधन, पासवर्ड गायव

क्रिप्टोकरेन्सीमार्फत अर्बाै भर्चुअल लगानी डुब्दै, संस्थापकको निधन, पासवर्ड गायव



काठमाडौं । क्रिप्टोकरेन्सीको एक्स्चेन्ज प्लेटफर्मका संस्थापकको मृत्यु भएको घटनासँगै अर्बौ रकम बराबरको भर्चुअल लगानी संकटमा पर्ने देखिएको छ । पछिल्लो हप्ता क्यानडामा भएको एउटा घटनाले क्रिप्टोकरेन्सीबाट हुने नोक्सानीका बारेमा बहस झनै बढेको हो ।

क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म क्वार्डिगाका लगानीकर्ता झण्डै १९ करोड अमेरिकी डलर(झण्डै २३ अर्ब नेपाली रुपैयाँ) गुमाउने स्थितिमा पुगेका छन् । क्वार्डिगाका संस्थापक गरेलेड कोटेनको मृत्यु भएसँगै उनले क्रिप्टोकरेन्सीको पासवर्ड पनि लिएर गएका बीबीसीले जानकारी दिएको छ ।
गएको वर्षको डिसेम्बर ९ मा भारतमा कोटेनको निधन भएको थियो । कम्पनीका अनुसार कोटेनले नै लगानी, क्वाइन तथा फण्डसँग जोडिएका कामकाज हेर्थे ।

जनवरी ३१ मा यो एक्सचेञ्ज प्लेटफर्मले नोवा स्कोटियाको सर्वोच्च अदालतसमक्ष लगानीका बारेमा रहेको जानकारी पत्ता लगाउन सक्षम नभएको बताएको थियो ।
कोटेनकी पत्नी जेनिफर रोबर्टसनले एउटा दस्तावेजमा हस्ताक्षर गरेकी थिइन् । यो दस्तावेजका अनुसार उनका श्रीमानले जुन ल्यापटपमा कम्पनीका जानकारी राख्थे, त्यो पूरै एनक्रिप्टेड छ । त्यसको पासवर्ड उनलाई थाहा छैन । उनी भन्छिन, ‘कैयौँ प्रयासका बाबजुद मैले यसको पासवर्ड पत्ता लगाउन सकिनँ ।’
पाँच वर्ष पहिले क्वार्डिगा कम्पनी स्थापना भएको थियो । पछिल्लो वर्ष नै यो कम्पनी आर्थिक संकटबाट गुज्रिएको थियो ।

क्यानडेली टेलिभिजन सीबीसीको एउटा रिपोर्टअनुसार यो वर्षको सुरुवातमै लिक्विडिटीका कारण सीआईबीसी बैंकले यो कम्पनीको २० मिलियन डलर जफत गरेको थियो ।
क्वार्डिगाका प्रयोगकर्ता झण्डै एक लाख १५ रहेका छन् । यसमा पेशेवर लगानीकर्ताका साथै बचत गर्न चाहनेहरु पनि छन् । यो घटनाका जानकारहरुको कुरा मान्ने हो भने लगानीकर्ताहरुले आफ्नो लगानी फिर्ता पाउने सम्भावना निकै न्यून रहेको छ ।

डिजिटल फाइनान्सका संस्थापक तथा वकिल क्रिस्टिन डुहैमीले सीबीसी टेलिभिजनसँग भने, ‘मलाई थुप्रै मान्छेहरुले इमेल लेखेर आफ्नो सबै पैसा गुमेको बताएका छन् । कतिपयले आफ्नो पेन्सनको पैसासमेत लगानी गरेका थिए ।’

कम्पनीका अनुसार क्वार्डिगाका संस्थापक कोटेन भारतको जयपुरमा एउटा च्यारिटीका लागि गएका थिए । उनले एउटा अनाथ र शरणार्थी बालबालिकाका लागिल अनाथाश्रम खोल्ने योजना बनाएका थिए ।

‘द ग्लोब एण्ड मेल’ को रिपोर्टका अनुसार कोटेनले आफ्नो निधन हुनुभन्दा ठीक दुई हप्ता पहिले नोभेम्बर २७ मा आफ्नो वसीयतमा आफ्नो हस्ताक्षर गरेका थिए । दस्तावेजका अनुसार कोटेनले श्रीमतीलाई आफ्नो सम्पत्तिको प्रबन्धक बनाएका थिए । अखबारका अनुसार उनले आफ्ना दुई कुकुरका नाममा पनि ७६ हजार अमेरिकी डलर रहेको उल्लेख गरेका थिए ।

उनको मृत्युपछि अब क्वार्डिगामा रहेको लगानी कसरी व्यवस्थापन हुन्छ भन्ने बारेमा कसैले केही भन्न सक्ने अवस्था छैन ।

कोटेनकी श्रीमती जेनिफरले अदालतमा कोटेनको निधनपछि पनि आफूले कम्पनीमा थुप्रै लगानी भित्र्याएको स्वीकार गरेकी छिन् ।

क्वार्डिगाले लगानीका बारेमा भएको जानकारी प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । यो मुद्दाको सुनुवाइ क्यानडाको नोवा स्कोटिया अदालतमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL