Logo

राष्ट्र बैंकको नीतिले मौलायो हुण्डी कारोबार, सुन्धारामा पैसा बुझाउने विदेशमा लिने

राष्ट्र बैंकको नीतिले मौलायो हुण्डी कारोबार, सुन्धारामा पैसा बुझाउने विदेशमा लिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटही सुविधामा कडाई गरेसँगै त्यसको फाइदा हुण्डी कारोबारमा देखिएको छ । राष्ट्र बैंकले नेपालीहरु विदेशमा गएर गर्ने खर्च न्युनिकरण तथा डलरको संचितिका लागि सहटी सुविधा कटौती गरेको थियो । तर, राष्ट्र बैंकले सहटी सुविधामा कटौती गरेसँगै त्यस्ता व्यक्तिहरुले हुण्डीबाट डलर सटही सुविधा लिन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

राष्ट्र बैंकले विदेश कात्तिकमा एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने तथा टीटीबाट सामान आयात गर्नेहरुको डलर सटही सुविधा कटौती गरेको थियो । यस अघि विदेश भ्रमणमा जाने व्यक्तिलाई २ हजार ५ सय डलर सटही सुविधा दिँइदै आएकोमा घटाएर १ हजार ५ सय डलरमा झारिएको थियो । व्यवसायीहरुले २५ सय डलरको सुविधा बढाउन माग गरिरहेको अवस्थामा घटाउँदा झन बढी हुण्डी कारोबारीलाई फाइदा पुगेको हो ।

यसैगरी राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले यसै हप्ता निर्देशन जारी गर्दै शिक्षा, आप्रवासन, स्वास्थ्यलगायतका प्रयोजनका लागि अमेरिकी डलर ५ हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ । यस्तै कात्तिकदेखि टीटीबाट सामान आयात गर्दा पाउने डलर सटही सुविधालाई पनि २५ प्रतिशतले कटौती गर्दै ३० हजारमा झारेको थियो ।

राष्ट्र बैंकले विदेश जाने नेपालीले पाउने डलर सटही सुविधामा कटौती गरेसँगै पछिल्लो समय हुण्डीबाट पैसा लैजाने क्रम बढेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘पहिला विदेश भ्रमण वा व्यवसायको लागि जाने व्यक्तिले बैंकिङ प्रणालीबाट डलर सटही गरेर लैजान्थ्ये जसको रेडर्क बैंकसँग हुन्थ्यो,’ उक्त स्रोतले भन्यो, ‘तर, अहिले राष्ट्र बैंकले कडाई गरेसँगै त्यसरी जाने व्यक्तिले इन्द्रचोक तथा सुन्धरामा गएर हुण्डी कारोबारीलाई पैसा बुझाउछन् सम्बद्ध देशमा गएर आफुलाई आवश्यक परेको डलर लिन्छन् ।’ सहटी सुविधामा कडाई गर्ने तर नियमनलाई प्राथमिकता दिन नसक्दा हुण्डी करोबारी फाइदा पुगेको समेत उक्त स्रोतको दाबी थियो ।

राष्ट्र बैंकले डलर सटही सुविधामा कटौती गरेसँगै हुण्डी व्यवसाय मौलाएको समेत उक्त स्रोतको दावी थियो । विशेषगरी लामो समयको लागि विदेश भ्रमणमा जाने, न्युनविजकिकरण गरी सामान आयात गर्ने तथा चीनसँगको व्यापारमा बढी हुण्डी कारोबार हुने गरेको समेत उक्त स्रोतको दावी थियो ।

अहिले चीनसँगको व्यापारमा पनि बढी वीच्याटमार्फत हुण्डी हुने गरेको एक व्यापारीले जानकारी दिए । ‘धेरै जसो व्यापारीहरु ठमेलमा गएर चाईनीजलाई पैसा बुझाउँछन्,’ ती व्यापारीले भने, ‘चीनमा गएर आफुलाई आवश्यक परेको चाईनिज मुद्रा लिएर सामान खरिद गर्छन ।’

भ्रमण तथा व्यवसायको सिलसिलामा विदेश जाने नेपालीलाई १ हजार ५ सयको डलर सटही सुविधाले नपुग्ने नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । ‘कुनै व्यवसायी विदेशमा सामान आयात तथा आफ्नो सामानको बजारीकरण गर्न जादा महिनौ दिन बस्नुपर्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा १ हजार ५ सयको डलर सटही सुविधाले कसरी पुग्छ ।’ सरकारले धेरै डलर सटही सुविधा चाहिने व्यक्तिलाई उसको कामको प्रकृति हेरेर आवश्यक अनुसार उपलब्ध गराउनुपर्ने समेत उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL