Logo

वैदेशिक सहायता १६ प्रतिशतले बढ्यो, अनुदान घट्दै ऋण बढ्दै

वैदेशिक सहायता १६ प्रतिशतले बढ्यो, अनुदान घट्दै ऋण बढ्दै



काठमाडौं । नेपालमा विभिन्न विकास साझेदारहरुले गर्ने लगानी १६ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७४÷७५ को आठौं विकास सहायता प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

सरकारले गत आवमा १ खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन गरेको थियो । तर, अघिल्लो आबमा यस्तो सहायता १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँ मात्र परिचालन भएको थियो ।

यसैगरी पछिल्लो समय वैदेशिक सहायताबाट प्राप्त रकम बजेटरी प्रणालीमार्फत खर्च हुने क्रम पनि बढेको छ । दातृनिकायले नेपालमा आफुखुशी रकम खर्च गर्दै आएकोमा पछिल्लो समय सरकारको बजेटरी प्रणालीमार्फत खर्च गर्ने क्रम बढेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गत आबमा नेपालमा भित्रिएको वैदेशिक सहायतामध्ये ७८ प्रतिशत रकम बजेट प्रणालीमार्फत खर्च भएको छ ।

पछिल्लो समय वैदेशिक सहायतामा अनुदानको तुलनामा ऋणको अंश बढ्दै गएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपाल सन् २०२२ सम्ममा विकाशिल मुलुकमा स्तरोन्नती हुने र देशको ऋण तिर्नसक्ने क्षमता पनि बढ्दै गएकाले पछिल्लो समय दातृ निकायले अनुदानको तुलनामा ऋणको हिस्सा बढाएको उनको भनाई थियो ।

गत आबमा दातृ निकायले उपलब्ध गराएको सहयोग मध्ये ५० दशमलव ५ प्रतिशत हिस्सा ऋण रहेको छ । यसैगरी अनुदान सहायता ३५ प्रतिशत र प्राविधिक सहायता १४ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपाललाई सहयो उपलब्ध गराउने बहुपक्षीय विकास साझेदारमा विश्व बैंक रहेको छ भने द्धिपक्षीय साझेदारमा वेलायत रहेको छ । सो अबधिमा विश्व बैंकले ५३ अर्ब ३५ करोड रुपैयाँ उपलब्ध गराउँदा वेलायतले १२ अर्ब ३९ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL