Logo

डलरको मूल्य १२० रुपैयाँ नजिक, एक दिनमै ५३ पैसा बढ्यो

डलरको मूल्य १२० रुपैयाँ नजिक, एक दिनमै ५३ पैसा बढ्यो



काठमाडौं । लगातार उकालो लागेको अमेरिकी डलरको मूल्य बुधबार १ सय २० रुपैयाँ नजिक पुगेको छ । बुधबार एकैदिन ५३ पैसाले बढ्दै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ३३ पैसामा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदर र पछिल्लो समय अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गएपछि त्यसको असर नेपाली मुद्रामा पर्न गएको हो । डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्समा उच्च वृद्धि भएपनि समग्रमा यसले नेपालको अर्थतन्त्रमा असर पार्नेछ ।

अमेरिकी डलरको मूल्य उच्च रुपमा बढ्दै जाँदा आयातित बस्तु महङ्गो हुनुका साथै नेपाली उद्योगबाट उत्पादित बस्तुका मूल्य समेत बढ्न जानेछ । चाडपर्वको समयमा डलरको मूल्य उच्च हुँदा बजारमा महङ्गी बढ्न गई नेपालीको दशैं तिहार महङगो हुने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

डलरको मूल्य बढ्दा नेपाली कामदारले पठाउने रेमिटान्स र पर्यटन उद्योगमा केही फाइदा पुगेपनि आयातमा आधारित अर्थतन्त्र भएका कारण मूल्यमा बढी चाप पर्ने छ । विशेषगरी दशैंको समयमा २० प्रतिशत मूल्य वृद्धि हुने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

दैनिकरुपमा बढ्दो डलर मूल्यका कारण देशको व्यापार घाटा भयावह हुनुका साथै भुक्तान सन्तुलन समेत विग्रने खतरा बढेको छ । अहिले नेपालको वैदेशिक ऋण ५ खर्ब रुपैयाँभन्दा बढी छ । जसले गर्दा वैदेशिक ऋण भार महङ्गो पर्न गई देशको बजेट सन्तुलनमै असर पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्समा सुधार आएपनि त्यसले देशको समग्र अर्थतन्त्रमा असर पार्ने छ । विशेषगरी मूल्यमा चाप पर्ने राष्ट्र बैंकको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL