Logo

११८ रुपैयाँमाथी पुग्यो डलर मूल्य, महङ्गियो नेपालीको दशैं तिहार

११८ रुपैयाँमाथी पुग्यो डलर मूल्य, महङ्गियो नेपालीको दशैं तिहार



काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर १ बराबर ११८ रुपैयाँ ३ पैसामा कारोबार भइरहेको छ ।

नेपालको भारतसँगको स्थिर विनिमयदर र पछिल्लो समय अमेरिकी मुद्राको तुलनमा भारतीय मुद्रा कमजोर बन्दै गएपछि त्यसको असर नेपाली मुद्रामा पर्न गएको हो ।

अमेरिकी अलरको मूल्य उच्च रुपमा बढ्दै जाँदा आयातित बस्तु महङ्गो हुनुका साथै नेपाली उद्योगाबाट उत्पादित बस्तुका मूल्य समेत बढ्न जानेछ । चाडपर्वको समयमा डलरको मूल्य उच्च हुँदा बजारमा महङ्गी बढ्न गई नेपालीको दशैं तिहार महङगो हुने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

दैनिकरुपमा बढ्दो डलर मूल्यका कारण देशको व्यापार घाटा भयावह हुनुका साथै भुक्तान सन्तुलन समेत विग्रने खतरा बढेको छ । अहिले नेपालको वैदेशिक ऋण ५ खर्ब रुपैयाँभन्दा बढी छ । जसले गर्दा वैदेशिक ऋण भार महङ्गो पर्न गई देशको बजेट सन्तुलनमै असर पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्समा सुधार आएपनि त्यसले देशको समग्र अर्थतन्त्रमा असर पार्ने छ । विशेषगरी मूल्यमा चाप पर्ने राष्ट्र बैंकको तर्क छ । यही आधारमा डलरको मूल्य बढ्न गई आयात महङ्गो भई मुद्रास्फितीले दोहोरो अंकको बृद्धि छुन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

बढ्दो डलर मूल्यका कारण नेपालले आर्थिक रुपमा ठूलो जोखिमको सामना गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । ‘अहिले नेपाल पूर्णतया आयातित अर्थतन्त्रमा निर्भर रहेको छ भने निर्यात एकदमै न्युन रहेको छ,’ उनले भने, ‘डलरको मूल्य उच्च बढ्दा आयात महङ्गो भई समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्नेछ ।’ हाल व्यवसायीले दशैं लक्षित सामान आयात गरिरहेका छन् यही समयमा डलर मूल्य उच्च हुँदा दशै र तिहारमा मूल्य बृद्धि उच्च हुनेछ ।

डलरको मूल्य उच्च हुँदै जाँदा समग्र अर्थतन्त्र नै नकारात्मक दिशातर्फ जाने उनको तर्क छ । ‘राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको साउन महिनामा गत आबको सोही अबधिको तुलनामा चालू खाता घाटा उच्च हुन भई भुक्तान सन्तुलन घाटा समेत धेरै बढेको छ,’ उनले भने, ‘यो देशको अर्थतन्त्रको लागि ठूलो चुनौती हो ।’ अबका दिनमा नेपालले आधुनिक कृषिलाई प्राथमिकता दिएर आयात प्रतिस्थापनमा केन्द्रित नगरे देशको अर्थतन्त्र सुधार हुन कठिन हुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL