Logo

चीन-अमेरिका व्यापार युद्ध, चीनको अर्थतन्त्र ओरालो लाग्यो

चीन-अमेरिका व्यापार युद्ध, चीनको अर्थतन्त्र ओरालो लाग्यो



काठमाडौं ।  पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो ७ महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ ।

बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी र निर्यातमा मात्र केन्द्रित गर्नुको साटो वैयक्तिक उपभोगमा पनि लगाउनुपर्ने अवस्था छ । चीनका अघिल्तिर ऋणको पहाडसँग जुध्नुपर्ने चुनौती पनि उत्तिकै छ ।

अमेरिकासँगको व्यापारिक विवादले समस्यामाथि समस्या थपेको छ –– केही हप्तादेखि चिनीया मुद्रा युआन र बजार दुबै खस्किएका छन् । अमेरिकासँगको तनाबले निर्यातकर्तालाई राहत दिएपनि चिनीया उपभोक्ता मारमा परेका छन् ।

अमेरिकाले ३४ अर्ब डलरको चिनीया सामानमा गरेको करबृद्धि र त्यससँगै चीनले प्रतिशोधस्वरुप अमेरिकी सामानमाथि गरेको करबृद्धि जुलाईको सुरुदेखि प्रयोगमा आइसकेको छ । करबृद्धिका अरु थप घोषणा आगामी हप्ता पनि चालू रहने अनुमान गर्न थालिएको छ ।

चीनको तथ्याङ्क ब्यूरो (एनबीएस) का प्रवक्ता लिऊ आइहूले भनिन, ‘यो द्वन्द्वको असर चीनमाथि कति पर्ला भन्ने अहिल्यै भन्न कठिन छ ।’ गत साता जारी व्यापार तथ्याङ्कले जुलाईमा चिनीया निर्यातमा वृद्धि नभएको देखाएको छ ।

‘नकारात्मक असरहरु विस्तारै देखिएलान, अन्तर्रा्ष्ट्रिय अर्थतन्त्र र विश्व अर्थतन्त्रमा परेका असर प्रकट हुन थालिसकेका छन,’ लिउले बताइन् ।

एनबीएसका अनुसार, कारखाना र वर्कसपको उपार्जन जुन महिनाकै दाँजोमा जुलाईमा ६ प्रतिशतले वृद्धि भयो, तर यो तथ्याँक ब्लुमबर्ग न्यूजले गरेको प्रक्षेपणमा देखाइएको ६ दशमलव ३ प्रतिशत भन्दा केही कम हो ।

घरेलु उपभोगको मुख्य मापक खुद्रा बिक्रीमा जुलाईमा ८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ, तर यो जुनमा रहेको ९ प्रतिशतभन्दा कम हो । खुद्रा बिक्रीको लक्ष्य भने ९ दशमलव १ प्रतिशत रहने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL