Logo

बजेटको आकारभन्दा ठूलो व्यापार घाटा, रेमिटान्सले जोगाउला भुक्तान सन्तुलन ?

बजेटको आकारभन्दा ठूलो व्यापार घाटा, रेमिटान्सले जोगाउला भुक्तान सन्तुलन ?



काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा व्यापार घाटाको आकार बजेटभन्दा ठूलो भएको छ । गत आबका व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँभन्दा माथी पुगेसँगै यसको आकार बजेटभन्दा ठूलो भएको हो ।

सरकारले गत आर्थिक बर्षमा संशोधित बजेट अनुमान १० खर्ब ८२ अर्ब ९९ करोड गरेको थियो । तर, सोही आबमा संशोधित बजेट अनुमानभन्दा ८० अर्ब रुपैयाँ बढि व्यापार घाटा हुन पुग्यो ।

भन्सार विभागको तथ्याङक अनुसार गत आबमा कुल १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जसमध्ये १२ खर्ब ४३ अर्ब  १९ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको थियो भने ८१ अर्ब १९ करोड रुपैयाँको मात्र आयात भएको छ ।

देशको अर्थतन्त्र आयातमुखी र निर्यातका लागि तुलनात्मक लाभका बस्तुहरु नहुँदा नेपालमा बर्षेनी व्यापार घाटा उच्च रुपमा बढ्दै गएको हो । तथ्याङ्क अनुसार गत आबमा सवैभन्दमा बढि १ खर्ब ९७ अर्ब रुपैयाँभन्दा बढिको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यसैगरी दोस्रो बढि १ खर्ब २५ अर्ब रुपैयाँ बराबरका आईरन एण्ड स्टिल आयात भएको छ भने तेस्रो स्थानमा रहँदै १ खर्ब २४ अर्ब रुपैयाँको मेशिनरी सामान आयात भएको तथ्याङ्कमा उल्लेख छ । सो अबधिमा ८६ अर्ब ३० करोड रुपैयाँको सवारीसाधन भित्रदा ७८ अर्ब २८ करोड रपैयाँको विद्युतीय सामान आयात भएको छ ।

तर, गतआबमा नेपालबाट बाहिरिने कुनै पनि बस्तुको निर्यात १० अर्ब रुपैयाँभन्दा माथी पुग्न सकेन । सो आबमा नेपालबाट सबैभन्दा बढि ९ अर्ब २० करोड रुपैयाँको कफी निर्यात भएको छ । यसैगरी कच्चा धागो, कार्पेट, तयारी पोशाक, फलामका सामानहरु बढि निर्यात हुने बस्तुको सुचीमा रहेका छन् ।

केही बर्ष यता नेपालको व्यापारघाटा लगातार रुपमा बढ्दै आएको र आयात प्रतिस्थापनको लागि आन्तरिक बस्नु उत्पादनमा प्राथमिकता नदिएसम्म यो क्रम नरोकिने राजस्व सचिव शिशिरकुमार ढुङ्गाना बताउँछन् । ‘हामीले पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न विद्युत उत्पादन तथा अन्तरिक रुपमा खाद्यान्न उत्पादनलाई प्राथमिकता नदिएसम्म व्यापार घाटा कम हुँदैन किनकि हामीसँग तत्काल ठूलो परिमाणमा निर्यात गर्न सकिने बस्तुहरु छैनन ।’

साथै बजेटको आकार र व्यापार घाटाबीच तुलना गर्न नमिल्ने समेत उनको तर्क थियो । ‘कुनै बर्ष सरकारले उच्च रुपमा व्यापार घाटा बढ्नेगरी ठूला पूर्वाधार निर्माण, ठूला जलविद्युत अयोजना निर्माणको नीति अवलम्बन गरेको हुन्छ,’ उनले भने, ‘त्यसका लागि मेशिनरी औजार तथा अन्य सामग्री आयात गर्दा स्वत व्यापार घाटा चुलिने छ ।’ व्यापार घाटा बढ्दै जादा देशको भुक्तान सन्तुलनमा कस्तो असर पार्छ भन्ने कुरा मुख्य भएको उनको तर्क थियो ।

देशको व्यापार घाटा उच्च रुपमा बढेसँगै देशको भुक्तान सन्तुलनमा कस्तो प्रभाव पर्छ भन्ने विषय नेपाल भित्रन् रेमिटान्समा निर्भर रहने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरबहादूर थापा बताउँछन् । ‘देशको भुक्तान सन्तुलन धान्ने एउटै मात्र अस्त्र विदेबाट प्राप्त हुने रेमिटान्स र विदेशी अनुदान हो,’ उनले भने, ‘अबका दिनमा नेपाल भित्र्ने रेमिटान्स बृद्धिदर, बाह्य पर्यटकले गर्ने खर्च तथा अनुदान कसरी प्राप्त गर्न सकिन्छ त्यसैमा नेपालको भुक्तान सन्तुलन निर्भर रहनेछ ।’

नेपाल राष्ट्र बैंक मासिक रुपमा तथ्याङक सार्वजनिक गर्दै पटक पटक देशको भुक्तान सन्तुलन विग्रन लागेको भन्दै आयात कर्म गर्न सचेत गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL