Logo

राजस्व संकलन र परिचालन दुबैमा असफल हुँदै सरकार, १० दिनमा उठ्ला ७० अर्ब ?

राजस्व संकलन र परिचालन दुबैमा असफल हुँदै सरकार, १० दिनमा उठ्ला ७० अर्ब ?



काठमाडौं । सरकार चालू आर्थिक बर्षमा राजस्व संकलन तथा परिचालन दुबैमा असफल हुने देखिएको छ ।

सरकारले गत आर्थिक बर्षमा लक्षित राजस्व भन्दा बढि संकलन गरेकोमा चालू आबमा भने तोकिएको लक्ष्य पनि हासिल गर्न नसक्ने देखिएको छ । सरकारले बजेटमार्फत चालू आबको लागि कुल ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, असार २० गतेम्म आईपुग्दा ६ अर्ब ६० करोड रुपैयाँ मात्र संकलन गरेको छ । लक्ष्य अनुरुप राजस्व संकलन गर्न सरकारले अबको १० दिनमा ७० अर्ब राजस्व उठाउनुपर्नेछ ।

सरकारले राजस्व संकलनका साथै परिचालनमा पनि असफल हुने देखिएको छ । चालू आर्थिक बर्षको विनियोजित बजेटमध्ये पूँजीगत खर्चमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विनियोज गरेको थियो । तर, असार अन्तिमसम्ममा आईपुग्दा कुल पूँजीगत खर्चको ५४ दशमलव २६ प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च गरेको छ ।

अर्थ मन्त्रालयको पछिल्लो संसोधित अनुमान अनुसार चालू आबमा ७१ प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, अबको १० दिनमा उक्त लक्ष्य समेत भेट्न कठिन हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । पछिल्लो संसोधित अनुमान अनुरुपको लक्ष्य हासिल गर्नका लागि पनि सरकारले १० दिनमा करिब ५७ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्नुपर्ने हुन्छ । जबकि यस अघिमा दिनमा सरकारले दैनिक सरदर ५१ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गर्न सकेको छ ।

सरकारले पछिल्लो समय भन्सार नाकामा कडाई गरेसँगै लक्ष्य अनुरुप राजस्व उठाउन कठिन भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘सरकारको राजस्व संकलनको मुख्य स्रोत आयात नै हो,’ एक उच्च अधिकारीले भने, ‘तर, सरकारले भन्सार विन्दुमा कडाई गर्दा भन्सारनाकाबाट सामान नै नछुटाई बसेका छन् ।’ व्यापारीहरुले भन्सार नाकाबाट सामान नछुटाउँदा सरकारको राजस्व संकलनमा असर पर्न गएको उक्त स्रोतको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL