Logo

वीच्याटमार्फत हुण्डी कारोबार गर्ने ४ करोड धरौटीमा छुटे, थप अनुसन्धान गरेर मुद्दा दायर गर्दै विभाग

वीच्याटमार्फत हुण्डी कारोबार गर्ने ४ करोड धरौटीमा छुटे, थप अनुसन्धान गरेर मुद्दा दायर गर्दै विभाग



काठमाडौं । वीच्याटलगायत अन्य सामाजिक संजालमार्फत हुण्डी कारोबार गरी प्रक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान विभागले धरौटीमा छाडिदिएको छ । अनुसन्धानको क्रममा वीच्याटमार्फत हुण्डी कारोबार गरिरहेको अवस्थामा नेपाल प्रहरी अपराध महाशाखा काठमाडौंले न्युरोडबाट नगद सहित प्रक्राउ गरी ७ जना व्यक्तिलाई राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । तर, उनीहरुलाई धरौटीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता शेखर पौडेलले जानकारी दिए ।

प्रहरीले वीच्याट तथा ह्वाट्सएपमार्फत हुण्डी गरिरहेको अवस्थामा प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरी राजस्व अनुसन्धामान बुझाएको थियो । ती व्यक्तिहरुलाई कारोबारको प्रकृति हेरेर हाललाई धरौटीमा छाडिएको राजस्व अनुसन्धान विभाग मुद्दा शाखाका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । प्रहरीले वीच्याट, ह्वाट्सएपमार्फत हुण्डीको कारोबार गरेको अवस्थामा पक्राउ परेका व्यक्तिहरुसँग ४ करोड रुपैयाँ धरौटी लिएर तारिखमा छाडेका छौं,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’ साथै गतहप्ता बिहीबारसम्मा सातै जना हुण्डी कारोबारीहरु धरौटीमा छुटेको समेत उनले जानकारी दिए ।

प्रहरीले २ हप्ता अघि हुण्डी कारोबारमा संलग्न ७ जनालाई न्युरोडबाट ५१ लाख ४ हजार ५ सय रुपैयाँ नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँको चेकसहित पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले नगद, चेक, मोबाईल, ल्याप्टप तथा वीच्याट र ह्वाट्सएपमा गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरी राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

सोही आधारमा अन्य व्यक्तिसँग पनि बयान लिने काम भइरहेको रेग्मीले जानकारी दिए । ‘हामीले प्रहरीले बुझाएको चेक, मोबाईल, ल्यापटप, लेजर भौचर तथा अन्य कागजातको आधारमा हुण्डी कारोबारमा संलग्न व्यक्तिहरुले कोकोसँग कारोबार गरेका छन् सो विषयमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘ती व्यक्तिहरुसँग करोबार गर्ने अन्य व्यक्तिहरुलाई पनि बोलाएर बयान लिइरहेका छौं ।’

हाल विभागले अनुसन्धानलाई द्वूत गतिमा अघि बढाएको र अनुसन्धान सकिने वित्तीकै सरकारी वकिलको साय लिएर मुद्दा दायर गरिने समेत रेग्मीले जानकारी दिए । ‘वीच्याट तथा ह्वाट्सएपबाट हुने हुण्डी कारोबारमा धेरै व्यक्ति जोडिएको हुनाले मोबाइल तथा ल्यापटप र अन्य कागजातको आधारमा अन्य .व्यक्तिलाई पनि बोलाएर बयान लिइरहेका छौ भने सोही अनुरुप अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘तर, अनुसन्धान कहिले सकिन्छ भन्ने निश्चित छैन ।’

प्रहरीले वीच्याटलयायत अन्य सामाजिक संजालबाट हुण्ड कारोबारमा संलग्न काठमाडौं महानगरपालिका ११ थापाथलिका २९ बर्षीय राहुलराय अग्रवाल, सिन्धुपाल्चोक बलेपी–८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ बर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ बर्षीय शिवकुमार साङतानी, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ बर्षीय अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्व र काठमाडौं बस्ने ३८ वर्षीय रविन्द्र चोखानी र ४७ वर्षीय राजकुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ बर्षीय जगदिशराना सरियालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL