Logo

अर्थमन्त्री डा. खतिवडाको उत्पादनमुलक क्षेत्रमा लगानी !, पैसा जति घरजग्गा र बैंकमा

अर्थमन्त्री डा. खतिवडाको उत्पादनमुलक क्षेत्रमा लगानी !, पैसा जति घरजग्गा र बैंकमा



काठमाडौं । घरजग्गा कारोबारलाई पटक–पटक अनुत्पादन क्षेत्रको रुपमा व्याख्या गर्दै आएका अर्थमन्त्री डा.युवराज खतिवडाको सम्पूर्ण लगानी भने सोही क्षेत्रमा भएको भेटिएको छ । अर्थमन्त्री खतिवडाले आफुले आज (बुधबार) सम्पती विवरण पेश गर्ने क्रममा जागिर खाएर आर्जन गरेको प्रायःजसो रकम घरजग्गा खरिदमै लगानी गरेको घोषणा गरेका छन् ।

उनले आफ्नो कमाईबाट काठमाडौं उत्यकामा मात्रै करिब ७ रोपनी जग्गा खरिद गरेका छन् भने २ वटा घर बनाएका छन् । उनी राष्ट्र बैंकको गभर्नर भएदेखि नै घरजग्गा व्यवसायलाई कडाई गरेका थिए भने सोही अनुरुप विभिन्न फोरमहरुमा अभिव्यक्ति दिँदै आएका थिए । तर, उनी आफैले भने राष्ट्र बैंकबाट सापटी लिएर घरजग्गामा लगानी गरेको विवरण पेश गरेका छन् । यस्तै उनको झापामा ४ बिगाहा १८ गठ्ठा जग्गा रहेको छ भने दोलखामा पनि सोही अनुपातमा जग्गा खरिद गरेका छन् ।

घरजग्गा कारोबारलाई अनुत्पादक भन्दै आएका अर्थमन्त्रीले आफ्नो सम्पती विवरण सार्वजनिक गरेसँगै सेयर लगानीकर्ता तथा उद्योगी व्यवसायीले विभिन्न खालका टिकाटिप्पणी गर्न थालेका छन् । बिहानदेखि बेलुकासम्म मदिरा र चुरोटको नसामा डुब्ने डक्टरले विरामीलाई धुम्रपान र मध्ययपान गर्न हुँदैन भन्नु र अर्थमन्त्री खतिवडाले घरजग्गा कारोबारलाई अनुत्पादक भन्नु उस्तै उस्तै भएको एक लगानीकर्ताले बताए । ‘उनले अरु घरजग्गा व्यवसायीलाई गर्ने व्यवहार र आफुले गर्ने व्यवहार एकदमै फरक भेटियो,’ ती व्यवसायीले भने, ‘यदि उनले घरजग्गालाई अनुत्पादक भन्ने हो भने किन किने पटक पटक गरी करोडौंको जग्गाजमिन ?’

अर्थशास्त्र बुझेका अर्थमन्त्रीको सम्पती विवरण सार्वजनिक हुँदा कृषि, माछापालन तथा उत्पादनमुलक क्षेत्रमा लगानी भएको हुनुपर्ने आशा गरेकोमा उनको सम्पती जति सबै उनैले भन्दै आएको अनुत्पादनमुलक क्षेत्रमा थुप्रिनु दुखदायी कुरा भएको एक उद्योगीले बताए । ‘हामीले सोचेका थियौं अर्थमन्त्रीले भनेझै उनको लगानी कृषि, पर्यटन तथा उद्योग कलखारखानामा रहेको छ,’ उनले भने, ‘उनको लगानी हेर्दा अर्थमन्त्रीले नै अनुत्पादक क्षेत्रलाई प्रोत्साहन गरेको देखियो जुन हामीजस्ता उद्योगी व्यवसायीका लागि दुखको कुरा हो ।

अर्थमन्त्रीको सम्पती विवरण हेर्दा सेयर कि घरजग्गा बढि अनुत्पादक क्षेत्र हो भन्ने विषय छुट्याउन समेत कठिन भएको ती एक लगानीकर्ताको तर्क थियो । ‘बैंक वित्तीय क्षेत्र तथा उद्योगको सेयरलाई अनुत्पादक भन्ने अर्थमन्त्रीले आफुले कमाएको जति सबै रकम घरजग्गा खरिदमा लगानी गरेका रहेछन्,’ ती उद्योगीले भने, ‘आगामी दिनमा उनले ल्याउने बजेटले घरजग्गालाई कसरी सम्बोधन गर्ने छ त्यो हेर्न बाँकी छ ।’

साथै बैंक ब्याजदर बढि भयो भन्दै पटक पटक भाषण गर्दै हिड्ने अर्थमन्त्रीले आफैले व्यक्तिगत रुपमा ब्याजमा पैसा लगाउनु पनि लज्जास्पत विषय भएको एक लगानीकर्ताले बताए । ‘अर्थमन्त्री स्वयम आफैले अर्थतन्त्रलाई पारदर्शी बनाई र अण्डरग्राण्ड हुनुबाट जोगाउनपर्छ भन्दै २ दशकभन्दा बढि समय वित्तीय क्षेत्र हाके,’ उनले भने, ‘तर, आफु स्वयमले भने बैंकमा पैसा राख्न छाडी व्यक्तिगत रुपमा ब्याजमा पैसा लगानी गरेको सम्पती विवरण सार्वजनि गरेका छन् ।’

सोही अनुरुप अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघमा रहँदा कमाएको रकम तथा राष्ट्र बैंकबाट लिएको सापटीबाट काठमाडौं महानगरपालिकको वडा नम्बर ४ मा श्रीमति र आफ्नो नाममा ५ र १४ आना जग्गामा १/१ वटा घर निर्माण गरेका छन् । तर उक्त घरजग्गा कतिमा खरिद गरी निर्माण गरेको भन्ने उनले खुलाएका छन ।

उनले आफु कार्यकारी पदमा रहँदा घरजग्गा कारोबार र सेयर बजारलाई अनुत्पादक भएको सो क्षेत्रमा भएको लगानीलाई कडाई गर्ने नीति लिएपनि उनले विभिन्न पदमा रहँदा गरेको आम्दानी भने सबै घरजग्गामा गरेको घोषणा गरेका छन् ।

यसैगरी उनले संयुक्त राष्ट्र संघमा रहँदा कमाएको रकमबाट श्रीमती र आफ्नो नाममा ४५/४५ लाख रुपैयाँमा भक्तपुरको चागुनारायणमा १२/१२ आना जग्गा खरिद गरेका छन् ।

यसैगरी उनले श्रीमतीको नाममा काठमाडौंको कागेश्वरीमा ४ रोपनी १ आना २ जग्गा खरिद गरेका छन् । उनले सो जग्गा विभिन्न संघ संस्थाको कन्सल्टेन्सी गरेवापत आर्जन गरेको २४ लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन् ।

यसैगरी अर्थमन्त्रीले आफ्नो जग्गा बिक्री वापत श्रीमतीको नाममा झापाको गौरादहमा ४ विगाहा ८ कठ्ठा जमिन खरिद गरेका छन् । उनले सो जग्गा २६ लाख रुपैयाँमा किनेका हुन् भने श्रीमतीकै नाममा दोलखाको जिरीमा ४ लाख रुपैयाँको जग्गा खरिद गरेका छन् ।

यसैगरी उनले आफ्नो निजी बचतबाट झापाको वुद्धशान्तिमा ५ लाख रुपैयाँ १० कठ्ठा जनिम खरिद गरेका छन् । यसैगरी उनले सवल सहकारीमा ५ लाख रुपैयाँ बजारबरको ५ हजार कित्ता सेयर खरिद गरेका छन् भने श्रीमतीको नाममा दुर्गा भवानी सहकारीमा श्रीमतीको नाममा ५ हजार रुपैयाँको सेयर रहेको उल्लेख गरेका छन् ।

लगानीकर्तालाई पटक–पटक उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएका अर्थमन्त्री खतिवडाले भने आफुसँग भएको नगद बैंकमा जम्मा गरेका छन् । उनले विभिन्न बैंकमा गरी ८९ लाख ६८ हजार नेपाली रुपैयाँ र ६२ हजार ७ सय अमेरिकी डलर जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL