Logo

वीच्याटबाट हुने कारोबारको अनुगमन गर्दै आन्तरिक राजस्व विभाग, ई–कमर्शलाई नियमन गर्न छुट्टै कानुन

वीच्याटबाट हुने कारोबारको अनुगमन गर्दै आन्तरिक राजस्व विभाग, ई–कमर्शलाई नियमन गर्न छुट्टै कानुन



काठमाडौं । वीच्याटलगायत अन्य सामाजिक संजालमार्फत पैसा बाहिरिन थालेपछि सरकारले त्यसलाई कडाई गर्ने भएको छ । पछिल्लो समय हुण्डीको विकल्पको रुपमा वीच्याटलगायत सामाजिक संजालमार्फत पैसा बाहिरिन थालेपछि आन्तरिक राजस्व विभागले त्यसलाई अनुगमन गर्न थालेको हो ।

पछिल्लो समय ई–कमर्शलाई नै अनुगमन गर्ने उद्देश्य अनुरुप सो सम्बन्धी नयाँ ऐन ल्याउन लागिएको आन्तरिक राजस्व विभागका डेपुटी महानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुङ्गेलले जानकारी दिए । ‘पछिल्लो समय वीच्याटबाट चीन लगायत अन्य मुलुकमा पैसा बाहिर थालेको जानकारीमा आएपछि हामीले अनुमगन बढाएका छौं,’ उनले भने, ‘त्यसलाई अनुगमन गर्न आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुलाई परिचालन गरेका छौं ।’ विशेषगरी वीच्याटको कारोबार हुने ठमेल, सुन्धरालगायतका ठाउँलाई विभागले निगरानीमा राखेर अनुगमन बढाएको समेत उनले जानकारी दिए ।

हुण्डी कारोबारलाई निरुत्साहित गर्ने सरकारको प्रयास विपरित सामाजिक सञ्जाल वीच्याट तथा भाइबरको प्रयोग गरेर नेपालबाट पैसा बाहिरिन थालेपछि त्यसलाई कडाईका साथ अनुगमन गर्न लागिएको ढुङ्गेलले जानकारी दिए । ‘विशेषगरी पछिल्लो समय वीच्याटबाट चीनमा गैरकानूनी रुपमा पैसा वाहिरिन थालेको जानकारीमा आएसँगै हामीले अनुगमनलाई तीब्र बनाएका छौं,’ उनले भने, ‘सामाजिक सञ्जालबाट हुने आर्थिक कारोबार ई–कमर्श अन्तरगत पर्ने र सोको नियमनका लागि कानूनमै केही लुपहोल भएकाले त्यसलाई संसोधनको तयारी गरेका छौं ।’

पछिल्लो समय संचालनमा आएका भाइबर बैंकिङ, वीच्याटलगायत आर्थिक कारोबार हुने सोसललाईट अनुगमन र नियमन गर्न सरकारले छिट्टै नै नयाँ कानून बनाउने समेत उनले जानकारी दिए । ‘त्यसलाई नियमन गर्नका लागि नयाँ कानुन बनाउन हामीले कार्यदल बनाएर छलफल गरी राय समेत लिइसकेका छौं,’ उनले भने, ‘नयाँ आर्थिक बर्षसँगै त्यस्ता सोसल साईटहरुलाई नियमन गर्ने गरी ऐन नियम आउने छ ।’

विशेषगरी क्युआर (क्वीक रेस्पोन्स) कोडमार्फत वीच्याटबाट गैर कानुनी रुपमा हुने कारोबारलाई न्युनिकरण गर्न विभागले आफ्ना संयन्त्रलाई परिचालन गरेको समेत उनले जानकारी दिए । ‘क्यूआर कोडमार्फत हुने आर्थिक कारोबारलाई कानुनी दायरामा ल्याएर अनुगमन तथा नियमन गर्न हामीले गृहकार्य गरिर रहेका छौं,’ उनले भने, ‘नयाँ आर्थिक बर्षसँगै यसले मूर्त रुप पाउने भएकाले त्यसपछि वीच्याट, भाइबरलगायत अन्य सोसलसाइटमार्फत हुने आर्थिक कारोबार नियमन हुनेछ ।’

वीच्याटमार्फत नगदको कारोबार गर्नु नपर्ने र सम्बन्धित देशको एउटा खाताबाट अर्को खातामा रकम जम्मा गर्न सकिने भएकाले पनि पछिल्लो समय हुण्डीको नयाँ विकल्पको रुपमा वीच्याटको प्रयोग भइरहेको छ । वीच्याटमार्फत चीनतर्फको व्यापार व्यवसायमा हुण्डी कारोबार हुने गरेको सम्बद्ध सरोकारवालाले जानकारी दिएको छ । ‘अहिले नेपालका होटल रेष्टराँ तथा अन्य व्यापारिक क्षेत्रमा चिनियाँको संलग्नता धेरै छ,’ उक्त स्रोतले भन्यो ‘तर, उनीहरुले बैंकिङ प्रणालीमार्फत नभई वीच्याटमार्फत हुण्डी कारोबार गर्दै राज्यलाई ठगिरहेका छन ।’

नेपालमा आएर होटल रेष्टुराँमा लगानी गरेका चिनियाँले त्यसको कारोबार नेपालमा नदेखाई वीच्याटको माध्यमबाट चीनमा नै गर्दै आएका छन । नेपालमा होटल रेष्टुराँ संचालन गरेका चिनियाँ व्यापारीले चीनबाट सम्झौतामा पर्यटक ल्याउने र आफुहरुको होटलमा खाना खाएको तथा बसेको बील नेपालमा नभई चीनमा रहेको आफ्नो खातामा भुक्तानी गर्न लगाउने गरेका छन । जसले गर्दा नेपाली व्यवसायीले आफ्नो व्यवसाय गुमाउनुका साथै आर्थिक रुपमा देशलाई मसेत कुनै फाईदा नपुग्ने उक्त स्रोतको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL