Logo

हुण्डीको नयाँ रुपमा ‘वीच्याट’, नेपालबाट चीनमा यसरी बाहिरिन्छ पैसा

हुण्डीको नयाँ रुपमा ‘वीच्याट’, नेपालबाट चीनमा यसरी बाहिरिन्छ पैसा



काठमाडौं । हुण्डी कारोबारलाई निरुत्साहित गर्ने सरकारको प्रयास विपरित सामाजिक सञ्जाल वीच्याटको प्रयोग गरेर नेपालबाट पैसा बाहिरिन थालेको छ । नेपालमा हुण्डी कारोबारको संख्या बढीरहेको अवस्थामा त्यसको नयाँ विकल्पका वीच्याटको प्रयोग बढ्न थालेको हो । वीच्याटमार्फत नगदको कारोबार गर्नु नपर्ने र सम्बन्धित देशको एउटा खाताबाट अर्को खातामा रकम जम्मा गर्न सकिने भएकाले पनि पछिल्लो समय हुण्डीको नयाँ विकल्पको रुपमा वीच्याटको प्रयोग भइरहेको सम्बद्ध सरोकारवाला बताउँछन् ।

वीच्याटमार्फत चीनतर्फको व्यापार व्यवसायमा हुण्डी कारोबार हुने गरेको स्रोतले बताए । ‘अहिले नेपालका होटल रेष्टराँ तथा अन्य व्यापारिक क्षेत्रमा चिनियाँको संलग्नता धेरै छ,’ उनले भने, ‘तर, उनीहरुले बैंकिङ प्रणालीमार्फत नभई वीच्याटमार्फत हुण्डी कारोबार गर्दै राज्यलाई ठगिरहेका छन् ।’

नेपालमा आएर होटल रेष्टुराँमा लगानी गरेका चिनियाँले त्यसको कारोबार नेपालमा नदेखाई वीच्याटको माध्यमबाट चीनमा नै गर्दै आएका छन् । नेपालमा होटल रेष्टुराँ संचालन गरेका चिनियाँ व्यापारीले चीनबाट सम्झौतामा पर्यटक ल्याउने र आफुहरुको होटलमा खाना खाएको तथा बसेको बील नेपालमा नभई चीनमा रहेको आफ्नो खातामा भुक्तानी गर्न लगाउने गरेका छन् ।
चीनबाट आउने पर्यटकले नेपालमा नगद भुक्तानी नगर्ने ठमेलका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘उनीहरुले सामान खरिद गरे वा खाना खाए भने क्युआर(क्वीक रेस्पोन्स) कोडमार्फत वीच्याटमार्फत भुक्तानी गर्छन,’ उनले भने, ‘जसको कारोबार नेपालमा नभई चीनको एक बैंकबाट अर्को बैंकमा हुन्छ ।’ चिनियाँ पर्यटकले वीच्याटमार्फत भुक्तानी गर्दा नेपाली व्यवसायीहरु समस्यामा पर्नुका साथै राज्यले समेत ठूलो मात्रामा राजस्व गुमाइरहेको उनको गुनासो थियो ।

यसरी हुन्छ वीच्याटबाट हुण्डी

विशेषत वीच्याट एउटा सुचना आदनप्रदान गर्ने सामाजिक सञ्जाल हो । यसलाई चीनले सन् २०११ को जनवरीमा पहिलो पटक सार्वजनिक गरेको थियो । हाल यसको प्रयोगकर्ता नै ७० करोडभन्दा बढी छन् । चीनको लोकप्रिय म्यासेजिङ एप्स पनि हो यो । अहिले भाइबर, वीच्याटजस्ता सामाजिक सञ्जाललाई बैंकिङ कारोबारसँग जोडिएको छ । नेपालमा आउने धेरैजसो चिनियाँ व्यापारीले वीच्याटकै माध्यमबाट कारोबार गर्दै आएका छन् । जसले गर्दा नेपालबाट गैरकानुनी रुपमा चीनमा पैसा लैजान सहज बनाएको छ । उदाहरणका लागि कुनै चिनियाँ व्यापारीले नेपालमा होटल रेष्टुराँ तथा व्यापार व्यवसाय गर्छ भने उसले त्यसको कारोबार नेपालमा नभई चीनबाटै गर्छ ।

नेपाल आउने चिनियाँ पर्यटक र नेपालमा रहेका चिनियाँ व्यापारीबीच वीच्याटमार्फत क्युआरकोडका माध्यमबाट कारोबार हुँदा सहजै रकम भुक्तानी गर्न सकिन्छ । बारकोडको सहायताबाट चीनको एक बैंकबाट सहजै एक बैंक खातामा रमक भुक्तानी गर्न सकिनेछ । नेपाल आउने चिनियाँ पर्यटकले आफुले गरेको खर्चको भुक्तानी नेपालमा नभई चीनमै गर्दै अएका छन् । अहिले ठमेल, चाईनाटाउन लगायतका क्षेत्रमा नेपाली व्यापारी तथा नेपाल आउने चिनियाँहरुले नगदभन्दा पनि क्युआरकोडको सहायताबाटै भुक्तानी गर्ने क्रम बढेको छ । जसको असर नेपाली बैंकिङ क्षेत्रमा परेको छ ।

विशेषगरी नेपाल आउने पर्यटकले त्यस्ता होटल रेष्टुराँमा खाना खाएको तथा बसेको पैसा वीच्याटमार्फत चीनमै भुक्तानी गर्छन । नेपाली व्यापारीलाई सामान खरिदका लागि हुण्डीमार्फत रकम लैजान समेत सहज हुने गरेको छ ।

चीनसँगको व्यापारमा हुण्डी कारोबार

चीनबाट सामान आयात गर्ने व्यापारीहरुले पनि हुण्डीमार्फत नै पैसा पठाएर सामान आयात गर्ने गरेका छन् । व्यवसायीहरुले डलरमा एलसी (लेटर अफ क्रेडिट) खोल्नुको सट्टा नेपालस्थित चिनियाँ व्यापारीलाई नेपाली रुपैयाँ दिएर चीनमा युआन लिएर सामान आयात गर्दै आएका छन् । ‘उदारहणका लागि नेपालीले चीनबाट ५ करोड रुपैयाँको सामान आयात गर्नुपर्यो भने एक करोड रुपैयाँको एलसी खोल्छन्,’ एक बैंकका उच्च अधिकारीले भने, ‘थप ४ करोड रकम हुण्डीमार्फत रकम पठाएर सामान खरिद गर्छन ।’ जसले गर्दा चीनबाट सामान आयात गर्दा अन्डर बिलिङको समस्या देखिएको ती बैंकरले जानकारी दिए । साथै त्यसरी नेपाली व्यापारीले बुझाएको रकम चिनियाँ व्यापारीले आफ्नो लगानी स्वरुप फिर्ता लैजाने गरेका सम्बद्ध स्रोतको भनाई थियो ।

राजस्व चुहावट बढ्दै

नेपालमा होटल रेष्टुराँ सञ्चालन गर्दै आएका चिनियाँ व्यापारीले वीच्याटको माध्यमबाट कारोबार गर्दा नेपाल सकारले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको छ । वीच्याटमार्फत भुक्तानी गर्दा उनीहरुको नेपालमा कारोबार नदेखिने हुँदा त्यस्ता व्यापारीले नेपाल सरकारलाई ठूलो मात्रामा कर छली गर्दै आएका छन् । उनीहरुले नेपालमा कर्मचारीलाई तलब दिन वा सामान खरिद गर्न चीनबाट सामान आयात गर्ने व्यापारीसँग पैसा लिने र उनीहरुलाई चीनबाटै भुक्तानी दिने हुँदा त्यस्तो कुनै पनि कारोबार नेपालमा देखिँदैन । जसले गर्दा चिनियाँ व्यापारीले नेपालमा गरेको कारोबार तथा नेपाली व्यापारीले चीनबाट सामान आयात गर्दा समेत ठूलो मात्रामा कर छली हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL