Logo

सरकारको बजेट खर्च निराशाजनक, राजस्व संकलन बजेटको लक्ष्यभन्दा धेरै पर

सरकारको बजेट खर्च निराशाजनक, राजस्व संकलन बजेटको लक्ष्यभन्दा धेरै पर



काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा तय गरेको बजेटको लक्ष्य पूरा नहुने भएको छ । सरकारले बजेटमार्फत तय गरेको राजस्व संकलनको लक्ष्य र बजेट खर्च दुवै पूरा नहुने भएको
हो । हालसम्मको सरकारको बजेट खर्चको अवस्था निराशाजनक छ ।

वैशाख मसान्तसम्मको कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेको छैन । यसमा पनि पुँजीगत खर्च अत्यन्त न्यून छ । महालेखा नियन्त्रकको कार्यालयको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार सरकारको कुल बजेट खर्च ७ खर्ब ६० अर्ब ४७ करोड ९५ लाख पुगेको छ । जुन वार्षिक लक्ष्यको ४९.६१ प्रतिशत हो । भने संशोधित लक्ष्यको ५४.८७ प्रतिशत हो ।

सरकारले चालु आवका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट ल्याएको थियो । मध्यवधिक समीक्षामार्फत अर्थमन्त्री युवराज खतिवडाले बजेटलाई संशोधन गर्दै लक्ष्यको ९०.४ प्रतिशत अथात् १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख मात्रै खर्च हुने बताएका थिए । बजेट खर्चको संशोधित लक्ष्य पूरा हुन पनि अबको दुई महिनामा ६ खर्ब ३५ अर्ब ४८ करोड ४१ लाख खर्च गर्नुपर्ने हुन्छ ।

यस्तै चालू आवमा बजेट खर्च थप निराशाजनक रहेको छ । सरकारले चालु खर्च लक्ष्यको ९४.५ प्रतिशत अथात् नौ खर्ब चार अर्ब ४६ करोड ८ लाख, पुँजीगत खर्च लक्ष्यको ८०.१ प्रतिशत अर्थात् तीन खर्ब २६ अर्ब ८१ करोड २७ लाख र वित्तीय व्यवस्थातर्फ ९२.२ प्रतिशत अर्थात् एक खर्ब ५४ अर्ब ६९ करोड एक लाख खर्च हुने संशोधित अनुमान गरेको थियो ।

कुल विनियोजित बजेटमा चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख छ । जसमध्ये वैशाख मसान्तसम्ममा पाँच खर्ब ७२ अर्ब १२ करोड ५१ लाख खर्च भएको छ । जुन खर्च कुल विनियोजित बजेटको ५९.७८ प्रतिशत मात्रै हो । भने बजेटको संशोधित अनुमानको ६३.२६ प्रतिशत हो ।

यस्तै पुँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएकामा एक खर्ब १४ अर्ब ११ करोड ८० लाख खर्च भएको छ । जुन विनियोजित बजेटको २७.९७ प्रतिशत मात्रै हो ।
भने संशोधित लक्ष्यको ३४.९२ प्रतिशत मात्रै हो । वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड बजेट विनियोजन भएकामा वैशाख मसान्तसम्ममा ७४ अर्ब २३ करोड ६५ लाख मात्रै खर्च भएको छ । जुन विनियोजित बजेटको ४४.२३ प्रतिशत र संशोधित लक्ष्यको ४७.९९ प्रतिशत हो ।

यस्तै सरकारको राजस्व संकलनको लक्ष्य पूरा नहुने भएको छ । चालु आवको १० महिनामा लक्ष्यको ५६.५३ प्रतिशत मात्रै राजस्व संकलन भएसँगै सरकारी लक्ष्य पूरा नहुने निश्चित भएको हो । सरकारले यो आवमा ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आवको १० महिना बितिसक्दा राजस्व संकलन बजेटको लक्ष्यभन्दा धेरै पछि छ । वैशाख मसान्तसम्म सरकारको कुल राजस्व संकलन ६ खर्ब ६१ अर्ब ४४ करोड ४८ लाख मात्रै पुगेको छ ।

सरकारले कुल राजस्वमध्ये चालु आवमा कर र गैरकर राजस्वबाट मात्रै ११ खर्ब १२ अर्ब तीन करोड ३२ लाख उठाउने लक्ष्य लिएको छ । वैशााख मसान्तसम्ममा कर राजस्व र गैरकर राजस्व गरेर पाँच खर्ब ५१ अर्ब ८७ करोड ४५ लाख संकलन गरेको छ । जुन लक्ष्यको ५४.६९ प्रतिशत हो । जसमध्ये कर राजस्व मात्रै १० खर्ब नौ अर्ब १६ करोड १८ लाख उठाउने लक्ष्य लिएको थियो । तर वैशाख मसान्तसम्ममा पाँच खर्ब ५१ अर्ब ११ करोड ११ लाख मात्रै संकलन गरेको छ । जुन लक्ष्यको ५४.६९ प्रतिशत मात्रै हो ।


यस्तै गैरकर राजस्व एक खर्ब दुई अर्ब ८७ करोड संकलन गर्ने लक्ष्य लिएकामा वैशाख मसान्तसम्ममा ५८ अर्ब ८२ करोड ४० लाख मात्रै संकलन भएको छ । जुन लक्ष्यको ५३.२९ प्रतिशत मात्रै हो । अन्य विभिन्न अनुदानमार्फत ५७ अर्ब ९९ करोड ५५ लाख संकलन गर्ने लक्ष्य लिएको सरकारले वैशाख मसान्तसम्ममा १० अर्ब ४९ करोड २४ लाख मात्रै संकलन गरेको छ । जुन लक्ष्यको १८.०९ प्रतिशत मात्रै हो ।

यता सरकारले बजेटमा सम्भावित स्रोतमै नराखेको अन्य स्रोतबाट मात्रै ४४ अर्ब २५ करोड २७ लाख संकलन गरेको छ । राष्ट्र बैंकलगायत विभिन्न कोषबाट सरकारले उक्त रकम तानेको हो । अर्थमन्त्री युवराज खतिवडाले बजेटको अर्धवार्षिक समीक्षामा राजस्व लक्ष्यमा संशोधन गर्दै लक्ष्यको ९५ प्रतिशत मात्रै राजस्व संकलन हुने बताएका थिए ।

संशोधित लक्ष्यअनुसार पनि असार मसान्तसम्ममा कर र गैरकर राजस्व मात्रै १० खर्ब ५६ अर्ब ७० करोड संकलन गर्नुपर्ने हुन्छ । सरकारको संशोधित अनुमानअनुसार राजस्व संकलन हुन पनि अबको दुई महिनामा चार खर्ब ५० अर्बभन्दा बढी राजस्व संकलन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL