Logo

डेढ अर्ब रुपैयाँ भित्र्याउने लक्ष्यसहित दोलखामा लगानी सम्मेलन हुँदै, जलविद्युत र तारे होटल प्रमुख प्राथमिकतामा

डेढ अर्ब रुपैयाँ भित्र्याउने लक्ष्यसहित दोलखामा लगानी सम्मेलन हुँदै, जलविद्युत र तारे होटल प्रमुख प्राथमिकतामा



काठमाडौं । दोलखामा लगानी सम्मेलन आयोजना हुने भएको छ । करिब डेढ अर्ब रुपैयाँ भित्र्याउने लक्ष्यसहित सम्मेलन आयोजना गरिन लागेको दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले जानकारी दिए । फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने सम्मेलनमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताको उपस्थिति हुने अपेक्षा गरिएको छ ।

लगानी सम्मेलनको प्रचार प्रसार र तयारीमा लागेका संघका महासचिव रिमालका अनुसार दोलखामा जलविद्युत तथा तारे होटल निर्माण प्राथमिकतामा राखेर लगानी जुटाउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो । दोलखा पर्यटकीय गन्तब्यका लागि उपयुक्त स्थान भएको तथा यहाँ साना होटलमात्रै भएकाले तारे होटलको आवश्यकता महसुस गरिएको छ । रिमालका अनुसार करिब डेढ अर्ब रुपैयाँ लगानीमा दुई ठूला तारे होटल निर्माणको सम्भावना पहिचान गरिएको छ ।

लगानी जुटेको खण्डमा चरिकोटदेखि माथी कालिञ्चोक जाने बाटो देउरालीमा १० रोपनी जग्गामा एउटा तारे होटल निर्माण हुने छ भने अर्को चरिकोटदेखि तामाकोशी जाने बाटोमा २ तारे होटल निर्माण हुनेछन । चरिकोटदेखि तामाकोशी जानेबाटो ईकोपार्कमा होटल निर्माण गर्नको लागि जग्गासमेत तयारी अवस्थामा रहेकाले लगानी जुटाउन पहल भईरहेको रिमालको भनाई छ ।

उद्योग वाणिज्य संघ दोलखाको अगुवाइमा आयोजना हुन लागेको सम्मेलनका लागि निजी क्षेत्र र स्थानीय तहहरू सम्भावित योजना छनोटमा लागिपरेका छन । निजी क्षेत्रको लगानी रहने गरि संघले विभिन्न योजनाहरू अघि सारेको रिमालले बताए । यसैगरी कृषि उत्पादनमा किबी, आलु, जडीबुटी उद्योग, पर्यटनसँग सम्बद्ध व्यवसाय र अन्य सम्भावित योजना तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL