Logo

नेपालको व्यापारघाटा साढे १ खर्बले बढ्यो, बार्षिक घाटा १३ खर्ब २१ अर्ब पुग्यो

नेपालको व्यापारघाटा साढे १ खर्बले बढ्यो, बार्षिक घाटा १३ खर्ब २१ अर्ब पुग्यो



काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा आब २०७५/७६ मा नेपालको ब्यापारघाटा साढे १ खर्बले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७४/७५ मा नेपालको कुल व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो । तर, गत आवमा आईपुग्दा सो व्यापारघाटा डेढ खर्बले बढ्दै १३ खर्ब २१ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ ।

laxmi

पछिल्लो समय आयातको तुलनामा निर्यातको अनुपात निरासाजनक हुँदै गएपछि व्यापार घाटा चुलिँदै गएको हो । अघिल्लो बर्षसँग तुलना गर्दा गत आबमा नेपालको व्यापार घाटा १ खर्ब ५७ अर्ब ९१ करोड ७९ लाख रुपैयाँले बढ्न पुगेको तथ्याङ्कले देखाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आबमा नेपालबाट कुल ९७ अर्ब १० करोड रुपैयाँ बराबरको बस्तुहरु निर्यात भएका छन । तर, सोही अबधिमा नेपालको आयात भने १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत आबमा नेपालको कुल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्नका नयाँ नीति लिएपनि सोको विपरित व्यापार घाटा उच्च हुँदै गएको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय सरकारले २ दर्जनभन्दा बढि बस्तु तथा सेवालाई निर्यातको उच्च प्राथमिकताका राख्दै निर्यात अनुदान दिएपनि त्यस्ता बस्तुहरुको निर्यात लक्ष्य अनुरुप हुन सकेको छैन । कुनै पनि बस्तुको विश्व बजारमा कति माग छ र त्यसको भ्यालु एड कति गर्न सकिन्छ भनेर कुनै अध्ययन नै नगरी दबाब र प्रभावको आधारमा सूची तयार गर्दा निर्यात हुन नसकेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षमा नेपालबाट ८१ अर्ब ३० करोड रुपैयाँ बराबरको बस्तु निर्यात हुँदा गत आबमा भने सो दर बढेर करिव १ खर्ब नजिक पुगेको छ । गत आर्थिक बर्षभरी नेपालबाट भारतमा मात्रै ६२ अर्ब ७३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ ।

यस्तै नेपाली बस्तुको दोस्रो ठुलो निर्यातकर्ता अमेरिकाले मात्रै १० अर्ब ८४ करोड रुपैयाँ बराबरको नेपाली सामान खरिद गरेको छ, अमेरिकाबाट नेपालमा भने सो अवधिमा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । यसरी हेर्दा अमेरिकासँग नेपालको व्यापारघाटा न्युन छ ।

यस्तै नेपालले विभिन्न दूरसंचारका उपकरण, तथा अन्य आवश्यक विद्युतिय उपकरणको आयात प्रतिबर्ष बढ्दा चीन, दुबई, फ्रान्स, ईन्डोनेशिया लगायतका देशहरुसँग व्यापारघाटा उच्च छ । यस्तै ईस्टोनिया, आईसल्याण्ड, गिनियाँ, सेन्ट्रल अफ्रिकन रिपब्लिक लगायत २२ ओटा देशहरुसँग नेपालको ब्यापार नाफामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL