Logo

अर्थमन्त्रीले भने, ‘मलाई नै नेपालको वित्तीय क्षेत्रको अनलाईन प्रणाली प्रति विश्वास लाग्दैन’

अर्थमन्त्रीले भने, ‘मलाई नै नेपालको वित्तीय क्षेत्रको अनलाईन प्रणाली प्रति विश्वास लाग्दैन’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति आफु विश्वस्त नभएको बताएका छन । उपयुक्त वित्तीय साक्षरताको कमिका कारण आफुलाई समेत अनलाईन कारोबार तथा बैंकिङ प्रणाली प्रति विश्वास नरहेको बताउँदै अर्थमन्त्री खतीवडाले सर्वसाधारण उपभोक्ताको अवस्थाबारे ध्यानाकर्षण गराएका हुन ।

आफैपनि बैंकिङ क्षेत्रमा २५ बर्षदेखि लागेको भएपनि अझै यसमा विश्वास नलाग्ने बताउँदै उनले कुनैपनि क्षेत्रमा लगानी गर्दा होस या कारोबार गर्दा राम्रोसँग बुझेर मात्रै कारोबार गर्न आह्वान गरेका छन ।

वित्तीय साक्षरता सम्बन्धी नेपाल धितोपत्र बोर्ड तथा ओईसीडीले आयोजना गरेको २ दिने सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालमा बैंकिङ तथा प्रविधि सम्बन्धी पर्याप्त वित्तीय साक्षरता नभएकै कारण कतिपय उपभोक्ताहरु अन्योलमा पर्ने बताएका हुन ।

नेपालमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न संस्थाहरु भएपनि सोही अनुसार साक्षरता दिन नसक्दा प्रायजसो उपभोक्ताहरु मारमा परेको तथा सोही अनुसार बैंकिङ क्षेत्रमा तथा आर्थिक कारोबारमा प्रविधिको विश्वास गर्ने वातावारण नभएको अर्थमन्त्री खतीवडाको भनाई छ ।

यस्तै धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले नेपालमा वित्तीय साक्षरताको कमी भएकै कारण अब यस्तो हुन नदिन वित्तीय साक्षरतामा जोड दिनुपर्ने बताएका छन । उनले सम्मेलनको उद्घाटन सत्रमा बोल्दै लगानीकर्ताको सुरक्षा र वित्तीय साक्षरताका लागि धितोपत्र बोर्ड पनि लागिपर्ने बताएका हुन । २ दिनसम्म चल्ने उक्त सम्मेलनमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सत्रहरु चल्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL