Logo

आगामी बर्ष ६ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण, चालू आवमा ७ दशमलव १ प्रतिशत

आगामी बर्ष ६ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण, चालू आवमा ७ दशमलव १ प्रतिशत



काठमाडौं । विश्व बैंकले चालू आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो । बैंकले यस अघि ६ दशमलव ८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा संसोधन गर्दै ७ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

यसैगरी बैंकले आर्थिक बर्ष २०७६/७७ मा ६ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि रहने प्रक्षेपण गरेको छ भने आव २०७७/७८ मा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ ।

बैंकले नेपालमा मानव पूँजीमा लगानी गरेर समृद्ध नेपाल बनाउन सहयोग पुग्ने जानकारी दिएको छ । ‘नेपाल पछिल्लो समय विकासमा सकारात्मक रुपमा अघि बढिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘मानव पूँजीमा लगानी बढाउँदै शिक्षा र स्वास्थ्यको न्युनतम मापदण्ड पुरा गर्न सकियो भने हालको कुल ग्राहस्थ उत्पादन दोब्बरले बढ्नेछ ।’

बैंकको प्रतिवेदनमा नेपालले मानव पूँजीमा लगानी गरेर मध्यम आय भएको मुलुकबाट माथी उठ्न सक्ने बताईएको छ । आगामी आर्थिक बर्ष सेवा तथा कृषि क्षेत्रमा भनेअनुरुप सुधार आएमा नेपालको आर्थिक वृद्धि बढ्ने प्रतिवेदनमा उल्लेख छ । नेपालमा पछिल्लो समय सेवाक्षेत्रमा होटल तथा रेष्टुरेन्टको संख्या बढेको र सोही अनुसार पर्यटक आगमन पनि बढेको छ ।

यस्तै कृषि क्षेत्रका लागि अनुकुल वातावारण भएकाले कृषि क्षेत्रले पनि आर्थिक वृद्धिलाई उचाल्ने बैंकको प्रक्षेपण रहेको छ । यस्तै उर्जाको पहुँचका कारण पनि उद्योग क्षेत्र फस्टाउने विश्व बेंकले प्रक्षेपण गरेको छ । सरकारले हाल युवा तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राख्दै मानव पूँजीमा लगानी बढाएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतीवडाले जानकारी दिए ।

युवालाई विश्व जनशक्ति सँग प्रतिश्पर्धात्मक बनाउन नेपाल लागिपरेको उनको भनाई थियो छ । ‘हामीले खासगरी विदेशी लगानी भित्र्याउने गरी हाम्रा नीति नियमहरुमा सुधार गरेका छौं,’ उनले भने, ‘यस्तै आगामी बर्षको बजेटमा पनि मानव पूँजीमा लगानी गर्नका लागि खानेपानी, स्वास्थ्य तथा शिक्षामा उचित बजेट विनियोजन समेत गरेका छौं ।’

नेपालले भनेजस्तो आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्नका लागि भने आयात प्रतिस्थापनमा ध्यान दिँदै निर्यातमा जोड दिनुपर्ने विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL