Logo

नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन बैठक, नेपालले जलमार्ग र थप दुई बन्दरगाह संचालन गर्न पाउने

नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन बैठक, नेपालले जलमार्ग र थप दुई बन्दरगाह संचालन गर्न पाउने



काठमाडौं । भारतले नेपाललाई जलमार्ग संचालन र थप दुईवटा बन्दरगाह प्रयोग गर्न दिने भएको छ । नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन बैंठकमा भारतले नेपाललाई दुई वटा जलमार्ग र थप दुईवटा बन्दरगाह प्रयोग गर्न दिन सहमत भएको हो । पोखरामा भएको नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन गर्न भएको सहसचिवस्तरीय वार्तामा भारत सकारात्म भएको हो ।

तेस्रो मुलुकबाट सामान ल्याउन दिनका लागि जलमार्ग प्रयोग र अन्य बन्दरगाह पनि प्रयोग गर्न दिनका लागि नेपालले राखेको प्रस्तावमा भारत सकारात्मक भएको बैंठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रबी शंकर सैजुले जानकारी दिए । ‘हामीले भारतलाई उसको जलमार्ग लिजमा प्रयोग गर्न दिन र सामान ढुवानीलाई सहज बनाउन अन्य बन्दरगाह पनि संचालन गर्न दिन प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘हाम्रो प्रस्तावमा भारत सकारात्मक देखिएको छ ।’

वार्तामा धेरै विषयमा छलफल भएको र नेपालले राखेको प्रस्तावहरुमा भारत सकारात्मक भएको समेत सैजुले जानकारी दिए । हाल नेपालले भारतको कोलकता र विशखापटनम गरी दुई वटा बन्दरगाह प्रयोग गरी सामान आयात गर्दै आएको छ । जसले गर्दा नेपालले सामान ढुवानी गर्न लामो समय लाग्ने गरेको छ भने सोही अनुरुप लागत पनि बढ्ने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । सामान ढुवानीलाई सहज बनाउनकै लागि नेपालले भारतको दुईवटा जलमार्ग प्रयोग र थप दुईवटा बन्दरगाह प्रयोग गर्न दिन प्रस्ताव राखेको थियो । भारतले नेपाललाई जलमार्ग संचालनमा गर्न दिने विषयमा सकारात्मक भएको र आगामी दिनमा प्राविधिक टोली गठन गरी दुईवटा जलमार्गको रुट तय गरिने समेत सैजुले जानकारी दिए ।

यसअघि नेपाली उद्योगी व्यवसायीले तेस्रो मुलुकमा उत्पादन भएको बस्तु भारतबाट आयात गर्न सकिने, व्यापारघाटा न्यूनिकरण तथा नेपाली बस्तुलाई भारतले भन्सार छुट दिनुपर्नेलगायतका विषयलाई वाणिज्य सन्धीमा समावेश गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL