Logo

एक सेकेन्ड बत्ती जाँदा ८ लाख घाटा !

एक सेकेन्ड बत्ती जाँदा ८ लाख घाटा !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/०७५ मा लोडसेडिङलाई इतिहास बनाउने लक्ष्य सहित सरकारले बजेट सार्वजनिक गरेको छ । देशभर लोडसेडिङ समस्या अन्त्य हुँदै गएको अवस्थामा उदयपुर सिमेन्ट उद्योगलाई भने नियमित विद्युत आपूर्ती नहुँदा दैनिक करिव १ सय ५० टन उत्पादन घाटा हुने गरेको छ ।

२५ बर्षपछि नाफा कमाएको सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा दैनिक १० पटकसम्म बत्ती जाने कम्पनीका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए ।

कम्पनीले विस्तारै नाफा गर्न थालेपनि अनियमित विद्युत आपूर्ती कम्पनीको मूख्य समस्या बनेको उनले गुनासो छ । ‘एक सेकेन्ड मात्र बत्ती जाँदा पनि पुनः सञ्चालन गर्न १ घण्टा जति समय लाग्छ,’ उनले भने ‘जसबाट कम्तीमा ८ लाख रुपैयाँ घाटा लाग्छ ।’ कम्पनीका माइनिङ फोरम्यान त्रिविक्रम ज्ञवालीले विद्युत आउने जाने भइरहँदा उत्पादन लागत समेत बढाउने बताए । कम्पनीले नेपाल विद्युत प्राधिकरणमा समस्या राखेपनि सम्बोधन नभएको उनले जानकारी दिए ।

कम्पनीका अनुसार गत महिना ९७ पटक विजुली गएको थियो । जसबाट उद्योगलाई २ करोड ९७ लाख रुपैयाँ बराबरको घाटा भएको थियो । मेसिन चल्दा चल्दै बीचमा बत्ती जाँदा सबै मेसिन रोकिन्छ । ती मेसिन पुनः सञ्चालन गर्न कम्तिमा पनि आधा घण्टा लाग्छ ।

त्यस्तै उद्योगले प्रयोग गरेको बत्ती ५ सय घरले पनि प्रयोग गरेका छन् । जहाँ साना उद्योग पनि चलिरहेको छ । उद्योगको लागि मात्र बत्ती माग गरेपनि प्राधिकरणले मानेको छैन । बस्तीको तार रुखमा छोइयो भने उद्योगको पनि बत्ती जान्छ । २४ सै घण्टा बत्ती चाहिने उद्योगमा यसले गर्दा समस्या देखिएको हो ।

त्यसो त एक पटक उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको एक टोली काठमाडौंमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि भेटर गुनासो राखेका थिए । भनेटमा समस्या चाँडै सम्बोधन हुने आश्वासन पाए पनि हालसम्म समाधान नभएको ज्ञवालीले जानकारी दिए ।

इन्भटर राखेर विद्युत समस्या समाधान गर्न सकिने भएपनि त्यसका लागि पर्याप्त रकम नभएको कम्पनीका मेकानिकल इन्जिनियर अशोककुमार शाहले जानकारी दिए । ‘जेनेरेटर जडान गर्न कम्तिमा ७ करोड रुपैयाँ लाग्छ,’ उनले भने, ‘भर्खर नाफा कमाउन थालेको उद्योगका लागि सो रमक जुटाउन समस्या छ ।’ विद्युतको आपूर्ती नियमित भएको अवस्थामा कम्पनीको उत्पादन बढ्नुका साथै उत्पादन लागतमा पनि कमी आउने छ । उदयपुर सिमेन्ट उद्योगले गैडाँ ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL