Logo

उद्योग विभागमा ३ महिनाभित्र डिजिटल सिग्नेचर, कम्पनी रजिष्ट्रारसँग सहकार्य

उद्योग विभागमा ३ महिनाभित्र डिजिटल सिग्नेचर, कम्पनी रजिष्ट्रारसँग सहकार्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग विभागले कम्पनी दर्ता तथा भिषा प्रोसेसिङमा डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने भएको छ । विभागले आगामी ३ महिनाभित्र डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने गरी तयारी थालेको विभागका महानिर्देशक प्रदिप कोइरालाले जानकारी दिए । ‘विभागमा हुने काम कारवाही सुरक्षित, पारदर्शी र सहज बनाउने उद्देश्यसहित डिजिटल सिग्नेचर प्रयोगमा ल्याउन लागिएको हो,’ उनले भने, ‘उद्योगको अनलाइल दर्तामा प्रमाणिकरणका लागि यो आवश्यक भएकोले प्रयोगमा ल्याउन लागेका हौं ।’

डिजिटल सिग्नेचर साइवर सुरक्षाको एक पक्ष हो । यसलाई प्रविधिमार्फत कारोवार गर्दा कसैले पनि आफुले पठाएको म्यासेज, इमेल वा आफ्नो फाइलहरु इन्कार गर्न सक्दैन । यसको प्रयोगले इन्टरनेट वा अनलाइन मार्फत डाटा पठाउँदा चोरी हुने सम्भावना रहदैन । यसमा पठाउने र पाउनेवीच सहकार्य हुनु आवयक छ । जसअनुसार डाटा वा डकुमेन्ट पठाउनेले त्यसको ‘ओरिजिनल फन्ट’मा नपठाइ अर्को फन्टमा पठाउछ । त्यस्तै पाउनेले त्यसलाई ‘कन्भर्ट’ गरेर हेर्छ ।
त्यस्तै विभागले अनलाइन दर्तामा फागुन १५ भित्र कम्पनी रजिष्ट्रारसँग सहकार्य गर्ने भएको छ । सेवाग्राहीलाई उद्योग विभागमा पेस गरेको प्रमाण तथा कागजपत्र कम्पनी रजिष्ट्रारमा पनि पेस गर्नुपरेकाले त्यसमा सहजीकरण गर्न सहकार्य गर्न लागेको हो । ‘हाल विभागमा पेस गरेको काजगपत्र सेवाग्राहीले पुनः कम्पनी रजिष्ट्रारमा बुझाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘सहकार्य पश्चात विभागमा बुझाएको डकुमेन्ट अटोमेटिक रुपमा कम्पनी रजिष्ट्रारमा पुग्छ ।’ यसले गर्दा सेवाग्राहीले एकै प्रकृतिका फाइल दुई ठाउँमा बुझाउनु पर्दैन ।

दुई कार्यलयबीच तथ्याङ्क आदनप्रदान गर्न मिल्ने बनाएसँगै उद्योगीहरु एउटै फाइल दुई तिर बोकेर हिड्नुपर्ने झण्झटबाट मुक्त हुनेछन् । हाल उद्योग दर्ता गर्दा विभाग र कम्पनीमा एकै प्रकृतिका फाइल छुट्टाछुट्टै पेश गर्नुपर्ने बाध्यता छ । ‘उद्योग दर्ता तथा नविकरणमा नयाँ व्यवस्था लागू भएसँगै समयको बचत हुनुका साथै उद्योगीले पनि सास्ती भोग्नु पर्दैन,’ उनले भने ।

उद्योग विभागले माघ २ गतेदेखि अनलाइन दर्ता शुरु गरेको छ । जसअनुसार विभागले वैदेशिक लगानी स्वीकृति, उद्योग दर्ता तथा भिषा प्रोसेसिङकाकाम अनलाइनबाट गर्छ । विभागले हालसम्म ७ ओटा विदेशी लगानीको अनलाइन स्वीकृति लिइसकेको छ । त्यस्तै १५ ओटा स्वदेशी उद्योग दर्ता र ३५ ओटा भिषा प्रोसेसिङ गरिएको कोइरालाले जानकारी दिए ।

अनलाइन दर्ता सञ्चालनमा ल्याएपनि सेवाग्राही अभ्यस्त नभएकोले फाइल बोकेर विभागमा आउने गरेको उनले बताए । ‘घरैबाट दर्ता गर्न सकिने भएपनि उनीहरु उद्योग दर्ताको फाइल बोकेर विभाग आउछन्’ उनले भने ‘त्यस्ता सेवाग्राहीलाई कर्मचारीको सहयोगमा अनलाइन दर्ता गर्न लगाउँछौं ।’ तथापी विभागले हाललाई भने अनलाइन दर्तासँगै फाइल पनि बुझ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL