Logo

साना उद्यमीका लागि उद्योग मन्त्रालयको नयाँ कार्यक्रम, सस्तो व्याजदरमा ऋण दिन बैंक तयार

साना उद्यमीका लागि उद्योग मन्त्रालयको नयाँ कार्यक्रम, सस्तो व्याजदरमा ऋण दिन बैंक तयार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्रालयले घरेलु तथा साना उद्यमीहरुका लागि नयाँ कार्यक्रम अघि सारेको छ । मन्त्रालयले साना उद्योगीहरुलाई सहजै तथा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यका साथ बैंकहरुसँग समन्वय गर्ने भएको हो ।

मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग मन्त्रालयमा बैंकरहरुलाई बोलाई सो सम्वन्धी छलफल गरेका हुन् । विशेषगरी युवाहरुलाई कामदारका रुपमा बाहिर जान बाट रोक्ने तथा उद्यमी बनाउने उद्देश्यका साथ बैंकहरुसँग समन्वय गर्न लागेको उनले जानकारी दिए ।

सो अवसरमा उनले बैंकहरुलाई घरेलु तथा साना उद्यमीहरुलाई दिइदै आएको ऋणको व्याजदर घटाउन आग्रह गरे । मन्त्री जोशीले उद्योगहरु पछि पर्दा बैंकको क्षमता अनुसारको पूँजी नबढेकोले त्यसतर्फ लगानी गर्न सुझाएका थिए ।

कार्यक्रममा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी निर्देशक रमेश अर्यालले हाल बैंकहरुले एसएमइलाई नै लक्षित गरि कार्यक्रम ल्याएको जानकारी दिए । साथै यसमा बैंकको भुमिकाको बारेमा दुविधा भएको बताए । उनले मौद्रिक नीति तथा बजेट दुवैमा साना उद्यमीहरुलाई ऋणसम्वन्धी समावेश भएपनि व्यवहारमा नआएको गुनासो गरे ।
त्यस्तै लगानी गर्न बैंकहरु इच्छुक भएपनि त्यही अनुसारको वातावरण नभएको उनले बताए । ‘बैंकसँग पैसा छ, डेलिभर पनि गर्न सक्छ तर, त्यही प्रकारको वातावरण छैन’ उनले भने ।

कार्यक्रममा जनता बैंकका प्रमुख कार्यकारी निर्देशककुमार लम्सालले यसमा विशेषगरी उद्यमीहरुको भुमिका पहिलो प्राथमिकता रहेको बताए । ‘बैंकको भुमिका त सेकेन्डरी मात्र हो,’ उनले भने ‘पहिला त उद्यमी नै अघि सर्नुपर्यो’ । त्यसका लागि मन्त्रालयले विशेष प्रकारका तालीमहरुको आयोजना गर्नुपर्ने उनले बताए । त्यस्तै पछिल्लो समय प्रतिशपर्धा बढ्दै जाँदा बैंकहरुको पनि बजार बढ्नु आवश्यक भएकोले यसमा विशेष इच्छा भएको बताए ।

सिद्धार्थ बैंकका अजय मिश्रले एसएमइलाई प्रवद्र्धन गर्न बैंकहरु तयार रहेको बताए । साथै करमा पनि केही सहुलियत दिने सक्ने जानकारी दिए ।

कार्यक्रममा विकास बैंकर्स संघका अध्यक्ष तथा कैलास विकास बैंकका प्रमुख कार्यकारी निर्देशक कृष्ण लामिछानेले दक्ष जनशक्ति नभएकोले पनि बैंकहरुले ऋण दिन अनकनाउने जानकारी दिए । त्यस्ता उद्यमीलाई ऋण दिद्या फस्ने डर भएकोले बैंकहरु डराउने उनले बताए । त्यस्तै हाल विशेषगरी विकास बैंकहरुले ग्रामिण भेगमा लक्षित गरी सेवा दिएको बताए ।

नेपाल बैंकर्स एशोसिएशनका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले एसएमइहरु लाई व्यवस्थापन गर्न नसकेको भन्दै भ्यालुचेन सिस्टमलाई प्रभावकारी बनाउनुपर्ने बताए । त्यस्तै प्रोजेक्टले नाफा कमाउन नसकेको अवस्थामा कसरी रिकभर गर्ने भन्ने गम्भिर चुनौती रहेको जानकारी दिए । पौडेलले पूर्वाधारको विकास नभएको कारण एसएमइमा सुधार नभएको बताए । त्यसकारण पहिला पूर्वाधार विकास गरेर मात्र अघि बढ्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा उद्योग सचिव शंकर कोइरालाले शुरुमा कुन क्षेत्रलाई कसरी अघि बढाउने भन्नेबारे अध्ययन गरिनुपर्ने बताए । त्यस्तै बैंकलाई कुन ठाउँमा तालीम दिँदा सहज हुन्छ भन्ने बारे छलफल गरेर उद्यमशीलता तालीम दिइने बताए । छलफल पश्चात मन्त्री जोशीले मन्त्रालय र बैंकहरुवीच काम बाँडफाँड गरि अघि बढ्नुपर्ने बताए । त्यस्तै बैंकले दिने नीतिगत सुझाव कार्यन्वयन गर्न मन्त्रालय तयार भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL