Logo

दोब्बरले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी, होटलमा चिनियाँ लगानीकर्ताको आकर्षण

दोब्बरले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी, होटलमा चिनियाँ लगानीकर्ताको आकर्षण



काठमाडौं । नेपालमा लगानीको वातावरणमा आएको सुधारको प्रत्यक्ष प्रभाव वैदेशिक लगानीमा देखिएको छ । नेपालको डुईङ विजनेस सुचकाङ्कमा सुधार, स्थायी सरकार, लगानीको सुरक्षा लगायका कारणले वैदेशिक तथा स्वदेशी लगानी प्रतिवद्धतामा वृद्धि देखिएको हो ।

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बर भन्दा बढीले बढेको छ ।

विभागको तथ्याङ्क अनुसार गत आवको पहिलो ३ महिनामा ४ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । उक्त अवधिको तुलनामा चालु आवको पहिलो ३ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता बढेर ११ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । जसमा होटल रेष्टुराँसँग सम्बन्धित ३९ ओटा मध्ये ३६ ओटा उद्योगमा चिनियाँ लगानीकर्ताले प्रतिवद्धता जनाएका छन ।

पछिल्लो समय सरकारले लगानी सहजताका लागि गरेको लगानी सम्मेलन लगायतका कार्यक्रमले पनि गत आवको तुलनामा चालु आवमा वैदेशिक लगानीमा वृद्धि भएको विभागका निर्देशक प्रेम लुईँटेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपालमा भ्रमण बर्षको तयारी हुँदै गर्दा होटल तथा पर्यटन क्षेत्रमा भने वैदेशिक लगानी बढेको छ ।

चालु आवको असोज मसान्तसम्म वैदेशिक लगानीका विभिन्न ८२ ओटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । जस अन्तर्गत सबैभन्दा बढी ३९ वटा उद्योग पर्यटन उद्योगसँग सम्बन्धित छन ।

यस्तै सेवातर्फ २५, उत्पादन ७, सूचना प्रविधिसम्बन्धी ६ र कृषि तथा वन सम्बन्धी १ उद्योगमा वैदेशिक लगानी प्रतिवद्धता आएको हो । जसबाट ४ हजार २ सय ९२ जनाले रोजगारी पाउनेछन ।

यस्तै चालु आवको पहिलो ३ महिनामा स्वदेशी लगानीका १ सय ७५ ओटा उद्योगमार्फत ६८ अर्बको लगानी प्रतिवद्धता आएको छ । स्वदेशी लगानीमा पनि पर्यटन र सेवामुलक क्षेत्रमा लगानी आकर्षित भएको उद्योग विभागले जानकारी दिएको छ ।

पछिल्लो ३ महिनामा सबैभन्दा बढी यी दुई क्षेत्रका ५३÷५३ ओटा उद्योगमा स्वदेशी लगानी प्रतिवद्धता आएको हो । नेपालमा पर्यटकको आगमन महिनैपिच्छे बढेसँगै पर्यटन क्षेत्रमा पनि लगानी प्रतिवद्धता बढेको होटल एशोसिएसन अफ नेपाल (हान) का उपाध्यक्षा विनायक शाहले बताए ।

उनका अुनसार नेपालमा विभिन्न ठुला घराना र अन्तरराष्ट्रिय चेन होटलहरुले नयाँ होटलहरु प्रशस्तै मात्रामा खोल्ने ट्रेन्ड बढेको हो । उनका अनुसार होटलको संख्या बढेपनि सोही अनुसार बाटोघाटो र पर्यटक आकर्षित गर्ने अन्य पूर्वाधारमा पनि उत्तिकै लगानी गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL