Logo

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना बनाउन आईएफसीसँग सम्झौता, ४५३ मिलियन डलर जुटाउन ९ संस्थाको सहभागिता

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना बनाउन आईएफसीसँग सम्झौता, ४५३ मिलियन डलर जुटाउन ९ संस्थाको सहभागिता



काठमाडौं । ४५३ मिलियन अमेरिकी डलरमा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना निर्माण हुने भएको छ । विश्व बैंक अन्तरगतका आइएफसी र अन्य लगानीकर्ताहरुले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना निर्माणको लागि ऋण सम्झौता गरेको हो ।

सम्झौता अनुसार आईएफसीले सो जलविद्युत निर्माणको लागि ४५३ मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने छ । उक्त ऋण सहयोगको लागि आइएफसीलगायत ८ ओटा अन्य ऋणदाताहरुको संलग्नता रहेको छ । उक्त लगानी निजी स्वामित्व रहेको नेपाल जल तथा उर्जा बिकास कम्पनीलाई प्रदान गर्ने भएको छ । कम्पनीले काठमाडौ भन्दा ७० किलोमिटर उत्तरमा त्रिशुली नदीमा २१६ मेगावाटको जलबिद्युत आयोजना निर्माण गरी संचालन गर्नेछ ।

औपचारिक रुपमा माथिल्लो त्रिशुली १ को रुपमा चिनिने यो परियोजनाको बित्तीय संरचना, प्रतिस्पर्धी बिद्युत महशुल दर र अन्तराष्ट्रिय स्तरमा स्वीकार गरिएका संझौताका मापदण्डहरु प्रयोग गरिएकाले यसले नेपालमा भबिष्यका जलबिद्युत परियोजनाहरुका लागि पनि एउटा मापदण्ड निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

‘यो नेपालको गेम चेन्जर गर्ने परियोजना हो’, उर्जा मन्त्री बर्षमान पुनले भने, ‘यसले सयौ हजार घरहरु तथा व्यापारिक प्रतिष्ठानलाई बिद्युत मात्र प्रदान गर्ने छैन, निजी कम्पनीहरुले कसरी नेपाललाई जलबिद्युतको क्षेत्र बिस्तार गर्न आवश्यक रहेको प्रत्यक्ष बैदेशिक लगानी आकर्षित गर्न सहयोग पुर्याउन सक्छन भन्ने उदाहरणको रुपमा समेत काम गर्नेछ ।’

सो आयोजनाको निर्माण सम्पन्न भने सन् २०२४ सम्ममा हुने अपेक्षा गरिएको छ । ‘नेपालको जलबिद्युत संभाव्यताको बिकासमा यो परियोजनाले महत्वपूर्ण कोसेढुंगा सावित गर्ने छ’, आइएफसीका दक्षिण एशिया निर्देशक मेन्गिस्तु आलेमायुले भने, ‘यसले सरकार, प्रायोजक र अन्य सरोकारवालाहरुको भूकम्पलगायत सबै अप्ठ्याराहरु बिरुद्ध धेरै बर्षसम्म लड्न सक्ने क्षमता राख्दछ ।’

नेपाल सरकारको सहकार्यमा आइएफसी, कोरियाली लगानीकर्ताहरुको सहबित्तीयकरण र नेपाली साझेदारहरुले माथिल्लो त्रिशुली १ परियोजना बिकास गर्न ७ बर्ष भन्दा बढी समय बिताएका छन् । कम्पनीका मुख्य स्वामित्वकर्ताहरुमा कोरिया साउथ इस्ट पावर, डाएलिम इन्डस्टियल, क्येरयोड. कन्स्टक्सन इन्डस्टियल, र आइएफसि रहेका छन् ।

आयोजना बिकास संझौता अनुसार स्थानीय रसुवावासी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि १० प्रतिशत सम्म सेयर लगानी सुनिश्चित गरिएको छ । आइएफसिले आफ्नै खातामा रहेको ९५ मिलियन अमेरिकी डलर इक्विटी र ऋण सहित १९० मिलियन अमेरिकी डलर र अन्य लगानी श्रोतको कार्यान्वययन गर्ने निकायको रुपमा ९५ मिलियन अमेरिकी डलर प्रदान गर्नेछ ।

बिश्व बैंक समुहको अर्को सदस्य बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सीले प्रायोजकहरुको राजनीतिक जोखिम बहन गर्ने ग्यारेन्टीको लागि १४५ मिलियन अमेरिकी डलर प्रदान गर्ने भएको छ । अन्य लगानीकर्तामा कोरियाली आयात निर्यात बैंक, एशियाली बिकास बैंक, एशियाली पूर्वाधार तथा लगानी बैंक, कोरियाली बिकास बैंक, बेलायती बित्तीय संस्थान, डच उद्यमशील बिकास बैंक, अन्तराष्ट्रिय बिकासका लागि ओपेक फण्ड र प्रोपार्को रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL