Logo

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा, तिहार अघि नै परीक्षण उत्पादन

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा, तिहार अघि नै परीक्षण उत्पादन



काठमाडौं । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै ६ वर्षदेखि बन्द रहेको नजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तरगत तातोपानीमा बाँधस्थल र फुल्पीङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनःनिर्माणको कार्य हालसम्म ९० प्रतिशत सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । उक्त काम सम्पन्न गरि तिहार अघिनै परीक्षण गरी विद्युत उत्पादन गरिने आयोजनाका कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिएका छन ।

हाल बाँधमा पानी भर्ने काम भइरहेको हँुदा तिहार अघि नै परीक्षण गरिने कार्यक्रम रहेकाले उत्पादित विद्युत् चाँडै नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी अधिकृत स्थापितको भनाइ छ । उक्त आयोजनाको पुनर्निर्माण कार्यको लागि २ वर्ष अघि ७ अर्ब रुपैयाँमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्यूरो ११ सँग सन् २०१९ को अन्त्यसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।

गत असार २१ गते राति चाकुखोलामा आएको बाढीले प्रसारण लाइनको पाँच वटा टावरमा क्षति पुगेको थियो । हाल त्यसको मर्मत कार्य भइरहेकाले दशैंअघिनै सम्पन्न गरिने आयोजनाले जनाएको छ । उक्त आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगे पछि ४ महीना बन्द भएको थियो ।

मर्मत पछि पुनः सञ्चालनमा आएलगत्तै २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार तेस्रो सातामा आएको भोटेकोशी बाढीले तहसनहस पारेको थियो ।

तातोपानीको १० किलोमा बाँध बाधेर ३ दशमलब ५ किमि सुरुङद्वारा फुल्पीङकट्टीे झिर्पुस्थित विद्युत् गृहमा पानी खसालिएको थियो । भूकम्प र बाढीले सुरुङ मार्ग र विद्युत् गृहबाहेक बाँध, पेनस्टक पाइप, प्रसारण लाइनको केही टावर तथा त्यहाँ जडित सम्पूर्ण मेशिनरी सामान तथा उपकरणमा समेत क्षति पुगेको आयोजनाले जनाएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL