Logo

ग्राहकको घरमा विद्युतको स्मार्ट मिटर राख्न सर्वेक्षण सुरु, पहिलो चरणमा ९० हजार घरमा जडान गरिँदै

ग्राहकको घरमा विद्युतको स्मार्ट मिटर राख्न सर्वेक्षण सुरु, पहिलो चरणमा ९० हजार घरमा जडान गरिँदै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण सुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगंज वितरण केन्द्रमा उक्त सर्वेक्षण गर्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजनाका रुपमा उक्त क्षेत्रका करिब ९० हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्नका लागि सर्वेक्षण गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ ।

स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू हुने छ । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ ।

यसबाट वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली संचालन दक्षता बढाउन प्राधिकरणको योजना रहेको छ ।

ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । उनले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गरेका छन ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैक एडिबीको सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाइएको हो । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र संचालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आगामी वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL