Logo

औद्योगिक व्यवसायिक ऐनको छुट आयकर ऐनले हटाउन नसक्ने, भ्याटको थ्रेसहोल्ड घटाउने मनस्थितीमा अर्थमन्त्री

औद्योगिक व्यवसायिक ऐनको छुट आयकर ऐनले हटाउन नसक्ने, भ्याटको थ्रेसहोल्ड घटाउने मनस्थितीमा अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायमा औद्योगिक व्यवसाय ऐनले दिएको छुटलाई आयकर ऐनले नहटाउने बताएका छन । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंको उद्घाटन समारोहमा बोल्दै उनले यस अघि औद्योगिक व्यवसाय ऐनले दिएको छुटलाई आएकर ऐनले नहटाउने स्पष्ट पारेका हुन् ।

व्यवसायीहरुले आयकर ऐन आउँदा यस अघि औद्योगिक व्यवसाय ऐनले दिएको छुट सुविधा कटौती गरेको भन्दै असन्तुष्टी व्यक्त गर्दै आएका थिए । तर, कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले यस अघि पाएको उक्त छुट सुविधालाई आयकर ऐनले हटाउन नसक्ने स्पष्ट पारेका हुन् ।

यसैगरी कार्यक्रममा मन्त्री खतिवडाले भने व्यवसायीको माग विपरित मूल्य अभिवृद्धि कर (भ्याट)को थ्रेसहोल्ड घटाउनुपर्ने बताए । हाल सरकारले भ्याटको थ्रेसहोल्ड ५० लाख रुपैयाँ राखेको छ । उद्योगी व्यवसायीहरुले भने यसको सिमा बढाएर १ करोड पुयाउनुपर्ने माग राख्दै आएका छन् । तर मन्त्री खतिवडाले मुलुकमा भ्याटजस्तो वैज्ञानिक कर प्रणाली लागू भइसकेको अवस्थामा थ्रेसहोल्ड बढाउन नसकिने जानकारी दिए । ‘उद्योगीहरु भ्याटको थ्रेसहोल्ड बढाउने माग राख्दै आउनुभएको छ म अहिले भएकालाई पनि घटाउने पक्षमा छु,’ उनले भने, ‘हामी भ्याटजस्तो बैज्ञानिक कर प्रणालीमा गैसकेको अवस्थामा किन बढाउन पर्यो थ्रेसहोल्डको सिमा ?’

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अहिले सरकारले आफुखुशी नियम कानून बनाउँदै उद्योगी व्यवसायीमाथी हमला गर्ने काम भइरहेको भन्दै त्यसले व्यवसायीक वातावरण विगार्ने बताईन । ‘अहिले देशमा नयाँ उद्योग व्यवसाय खोल्ने अवस्था छैन भने भएका उद्योगहरुपनि चल्न नसक्ने अवस्थामा पुग्न लागिसके,’ उनले भनिन्, ‘पछिल्लो समय सरकारले ल्याएको नयाँ नियमले ठूलो समस्या उत्पन्न भएको छ ।

यसैगरी नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका उपाध्यक्ष हेमराज ढकालले सरकारले देशमा लगानीमैत्री वातावरण बनाउनेपर्ने बताए । सरकारले ढिला नगरी देशलाई औद्योगिक दशकको रुपमा घोषणा गरी उद्योग कलकारखाना स्थापना गर्दा स्पष्ट खालका सुविधा र सहुलियतका कार्यक्रमहरु ल्याउनुपर्ने उनको भनाई छ ।

विधिवत रुपमा आज गठित उद्योग बाणिज्य संघको दिनेश श्रेष्ठको अध्यक्षता १९ सदस्यीय कार्यसमित गठन भएको छ । जसमा उपाध्यक्षहरुमा हेमराज ढकाल, जय शिवाकोटी र राजेन्द्र शेरचन रहेका छन् । संघको महासचिवमा रमानाथ श्रेष्ठ, सचिवमा लोकनाथ गैरे र कोषध्यक्षमा शुष्मा महरा रहेकी छिन् ।

यसैगरी सदस्यहरुमा दुर्गाराज श्रेष्ठ, नानीराज घिमिरे, दिलबहादूर कँडेल, अमुलकाजी तुलाधर, प्रदिपमान प्रधान, सदिश श्रेष्ठ, गोविन्दप्रसाद बराल, दिपक भण्डारी, महेन्द्रकुमार गोयल, राजेन्द्र संग्रौला, भरत राज घिमिरे र हेमबहादूर स्वाँर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL