Logo

दाना–खुर्कोट प्रसारण लाइन ९० प्रतिशत काम सम्पन्न, जग्गा विवादले प्रसारण लाइन निर्माण रोकियो

दाना–खुर्कोट प्रसारण लाइन ९० प्रतिशत काम सम्पन्न, जग्गा विवादले प्रसारण लाइन निर्माण रोकियो



काठमाडौं । कालीगण्डकी करिडोरअन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले प्रसारण लाईन निर्माणमा अवरोध पुर्याएका हुन ।

आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत आयोजना निर्माणमा ढिलाइ हुनाका साथै उत्पादित विद्युत खेर जाने स्थिति सिर्जना भएको छ ।

बस्ती र घरलाई असर नपर्नेगरी प्रस्तावित टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न, मुआब्जा समायोजन र वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागमा सहमति जुट्न नसकेपछि पोखरेबगर क्षेत्रका ६ टावर निर्माण अघि बढ्न सकेको छैन । आँगनमै टावर राखेर बस्तीकोबीचबाट प्रसारण लाइन लैजान लागिएकाले विकल्प खोज्न भनिए पनि आयोजनाले बेवास्ता गरेको पोखरेबगरका रामबहादुर बरुवालले बताए ।

सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन् । आयोजना अप्ठ्यारोमा परेको छ । मागको सुनुवाइ नभएसम्म काम गर्न नदिने स्थानीयवासीको अडान छ । उनीहरुले टावरको जग खन्न परिचालन भएका मजदुर र डोजरलाई फर्काउँदै आएका छन् । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११४ मध्ये १०७ टावर निर्माण भइसकेको छ । धेरैजसो ठाउँमा तार तान्ने काम पनि भइरहेको छ । जग्गा धनीसँगको विवादले जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर पनि बन्न सकेको छैन ।

पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा धनबहादुर बरुवाल, रामबहादुर जिसी, वीरबहादुर खत्री र सोमबहादुर भण्डारीको परिवार विस्थापित हुने भएका छन् । अहिलेको नक्साअनुसार टावर र प्रसारण लाइन निर्माण गर्दा पोखरेबगरस्थित गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत जोखिममा पर्ने देखिएको छ । स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए/नभएको विषयमा स्थलगत अध्ययन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन ।

स्थानीयवासीले अहिलेकै नक्साअनुसार टावर र लाइन बनाउन नदिने तथा आयोजनाले नक्सा परिवर्तन गर्न नमिल्ने अडान राख्दै आएका छन् । वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित बासिन्दा र आयोजनाबीच छलफलको माध्यमबाट निकास निकाल्न प्रयत्न भइरहेको बताएका छन ।

आयोजना प्रमुख चन्दनकुमार घोषले प्राविधिक र आर्थिक हिसाबले नक्सा परिवर्तनको सम्भावना नभएको बताएका छन । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि सुरु गरेको दाना, खुर्कोट सवस्टेशन र प्रसारण लाइन गत कात्तिकमै सक्ने लक्ष्य थियो ।

पहिलोपटक ६ महीना थपिए पनि काम नसकिएपछि गत असारमा दोस्रोपटक ३ महीनाको म्याद थपिएको आयोजना प्रमुख घोषले बताए । सवस्टेशन र अन्य ठाउँमा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशन र प्रसारण लाइन बनाउने ठेक्का लिएको थियो ।

हालसम्म ९० प्रतिशत काम सकिए पनि स्थानीयवासीको अवरोध चुनौती बनेको छ । म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि सवस्टेशनका साथै प्रसारण लाइन निर्माण गर्न लागिएको थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL