Logo

निजी क्षेत्रले उत्पादन गरेको सबै विद्युत सरकारले किन्ने, आगामी बर्ष देशका सबै स्थानमा विजुली

निजी क्षेत्रले उत्पादन गरेको सबै विद्युत सरकारले किन्ने, आगामी बर्ष देशका सबै स्थानमा विजुली



काठमाडौं । निजी क्षेत्रले उत्पादन गरेका सबै विद्युत सरकारले किन्ने भएको छ । आईतबार उर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले निजी क्षेत्रले उत्पादन गरेको सबै विजुली सरकारले किन्ने जानकारी दिएका हुन । नेपाल विद्युत प्राधिकरणको ३४ औं बार्षिकोत्सवमा बोल्दै उनले निजी क्षेत्रलाई जतिसक्दो धेरै विजुली उत्पादन गर्न आव्हान गरेका हुन ।

‘हामीले उत्पादन गरेको विजुली सकेसम्म नेपालमै खपत हुने परिपाटी मिलाउँछौं,’ उनले भने, ‘यस्तै भारत या बंगलादेशमा विजुली निर्यात गर्नुपर्याे भने पनि हामी त्यसको व्यवस्थापन गरिदिनेछौं निजी कम्पनीहरुले सक्दो विजुली उत्पादन गर्नुहोस ।’

उनले प्राधिकरणलाई उत्कृष्ट संस्थान बनाउने प्रतिवद्धता समेत जनाएका छन । विभिन्न मन्त्रालयहरुको कार्यप्रगति उत्कृष्ट बनाउने प्रावधान अनुसार मन्त्रालय अन्तर्गतको प्राधिकरणलाई १ नंवरको संस्थान बनाउने संकल्प र प्रतिवद्धता लिएको जानकारी दिएका छन । नेपालमा विभिन्न मन्त्रालयका ३ दर्जनभन्दा बढि संस्थान रहेकामध्ये प्राधिकरणलाई भने उत्कृष्ट बनाउने बताएका हुन ।

उनले कार्यक्रममा बोल्दै गत आर्थिक बर्ष विद्युतको नियमित आपुर्तिका कारण पेट्रोलियम पदार्थको आयात घटेको र सोही अनुसारको राजस्वको लक्ष्य भेटाउन नसकिएको बताएका छन । प्राधिकरणले गत आर्थिक बर्षमा आफ्नो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १ सय ३९ प्रतिशतले वृद्धि गरेको छ ।

सोही अनुसार चालु आर्थिक बर्षमा पनि सो वृद्धिलाई निरन्तरता दिँदै साढे ८ अर्बको लक्ष्य लिएको मन्त्री पुनले जानकारी दिएका छन । उनले आगामी बर्षसम्म देशका विभिन्न स्थानमा अभियानकै रुपमा ग्रीड प्रणालीमार्फत विद्युत पुर्याउने कार्य गरिने बताएका .छन । यस्तै मन्त्रालयले हाल कहिले काहिँ ३ सय मेगावाट भन्दा बढि विजुलीको माग हुँदा सोही अनुसार आपुर्ति गर्न गाह्रो भईरहेको उनको भनाई छ । आगामी ४ बर्ष भित्र विद्युत क्षेत्रमा देखिएका सबै प्रकारको समस्याको अन्त्य गर्ने उनले बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका नाफा प्रत्येक बर्ष लक्ष्यभन्दा बढि देखिने गरेका बताएका छन । उनले आगामी बर्ष नेपालका ४० जिल्ला र ४ बर्षभित्रमा सबै स्थानमा ग्रीड ईलेक्ट्रीफिकेसन पुर्याउने बताएका छन ।

उनले हालसम्म प्राधिकरणले विभिन्न प्रगति गरेको बताउँदै आगामी दिनमा ठूला गेमचेन्जरका आयोजनालाई प्राथमिकतामा राखिने बताएका छन । यस्तै उनले विद्युत चुहावट नियन्त्रणका लागि अन्तररष्ट्रिय स्तरको उपाय लागु गरिने समेत बताएका छन ।

नेपालमा विद्युत उत्पादन भएजसरी बजार नभएको आरोप समेत आएको उनले बताएका छन । तर यस्तो आरोपलाई कम गर्न नेपालीहरुले सिजनल रुपमै भएपनि भान्छामा या विभिन्न क्षेत्रमा विजुलीको सक्दो प्रयोग गरेर आन्तरिक खपत बढाउन आव्हान गरेका छन

प्रतिक्रिया दिनुहोस्
MBL